ताजा समाचार:
Search

मोहनचोक–मल्लाज सडक ट्याक खुलेको दुई दशकपछि स्तरोन्नती सुरु

बिकल्प न्युज / बेनी

पुस २२ गते । जलजला गाउँपालिका ४ मोहनचोक देखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक स्तारोन्नती सुरु भएको छ ।

बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नती गर्न लागिएको हो । ट्याक खुलेको बीस वर्षपछि गाउँपालिकाको पहलमा स्तरोन्नती गर्न सुरु भएको छ ।

२०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा ट्याक खुलेको सडकलाई जलजला गाउँपालिकाले स्तरोन्नती गर्न लागेको वडा अध्यक्ष भिष्म मल्लले जानकारी दिनुभयो । फराकीलो बनाउने, ग्यावियन र पक्की पर्खाल लगाउने, नाली बनाउने, ढलान र कालोपत्रे गरीने उहाँले बताउनुभयो ।
गत वर्ष बिनियोजन भएको ९० लाख रुपैयाँबाट उपभोक्ता समिति मार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको सडकलाई यस वर्ष ढलान, नाली र पर्खाल निर्माण गरी स्तरोन्नतीलाई पूर्णता दिन लागिएको छ ।
सडकको प्रवेश बिन्दुमा पर्ने मोहनचोक नजिकै खोलाको किनार र खेतको बिचमा रहेको २८३ मिटर सडक ढलान गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र मल्लले बताउनुभयो । आठ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ । गत वर्ष सडक विस्तारपछि जोमिखयुक्त भएको ठाउँमा ४५ मिटर पक्की पर्खाल पनि निर्माण गर्न लागिएको छ । २०० थान ग्यावियन पर्खाल निर्माण गर्ने लक्ष्य अनुसार ८९ थान ग्यावीयन पर्खाल निर्माण भइसकेको छ ।

सडक स्तरोन्नतीका लागि यस वर्ष गाउँपालिकाले ९९ लाख रुपैयाँ बिनियोजन गरेको अध्यक्ष मल्लले बताउनुभयो । गत वर्ष नयाँ ट्याक खोलेर घुमाउरो सडकको एक किलोमिटर दुरी छोट्याइएको छ । हाल साढे तिन मिटर चाक्लो रहेको सडक कम्तीमा आठ मिटर फराकीलो बनाइने भएको छ ।

मोहनचोक मल्लाज सडक दुई दशकदेखि सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो । धेरै वडालाई समेट्ने र पुरानो यस सडकलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरेर क्रमागत योजनामा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताउनुभयो ।
सडकको डिपीआर बनाएर अनुमानीत लागत तयार पारेर बजेटको स्रोत व्यवस्थापन गरिने उहाँले बताउनुभयो । यो आयोजनाबाट जलजला गाउँपालीकाको १, २, ३, ४ र ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज, लेकफाँटका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेका बासिन्दा लाभान्वित हुने जनाइएको छ ।

स्थानीयबासीलाई सहज रुपमा आवत जावतका साथै तरकारी, सुन्तला, दूध लगायत कृषि उपज निकासीमा सहज हुने अपेक्षा गरिएको छ । निर्माणाधिन अवस्थामा रहेको मोहनचोक–मल्लाज सडकको हालै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले स्थलगत अनुगमन गर्नुभएको थियो ।