विकल्प न्यूज/बेनी
पुस १७ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत म्याग्दी, पर्वत र बाग्लुङका सात वटा स्थानीय तहलाई समेटेर स्थापना भएको सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)को मंगलबार बेनीमा सञ्चालक समिति गठन भएको छ ।
बेनपा ३ राखुका खिमबहादुर पुनको संयोजकत्वमा ९ सदस्यीय सञ्चालक समिति गठन भएको हो । परियोजनाको कार्यबिधि अनुसार समितिको सहसंयोजकमा जलजला गाउँपालिकाका भुपेन्द्र पाइजा, बाग्लुङ नगरपालिका १० का नरबहादुर थापा र सहसचिवमा शान्ती थापामगर चयन हुनुभएको छ ।
सदस्यहरुमा मालिका गाउँपालिका ७ बिमका थमबहादुर जुक्जाली, मंगला गाउँपालिका ३ की तुलकुमारी सापकोटा, रघुगंगा गाउँपालिका २ का बिरबहादुर कटुवाल, बानपा ८ का रेशम थापा र अन्नपूर्ण गाउँपालिका ७ की तमाया शेरपुञ्जा रहनुभएको सुन्तला जोन कार्यान्वयन इकाई कार्यालयका प्रमुख बोमबहादुर थापाले जानकारी दिनुभयो ।
समितिले बिधान बनाउने र कृषि ज्ञान केन्द्रमा दर्ता भएर कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि बढाउने थापाले बताउनुभयो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुन्तलाको ब्यवसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धी र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सुरु गरेको हो ।
न्यूनतम पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको भुगोललाई समेटेर कार्यक्रम सुरु गरिएको छ । बेनी र बाग्लुङ नगरपालिका, जलजला, रघुगंगा, मंगला, मालिका र काठेखोला गाउँपालिकाको ५२ वटा वडालाई समेटिएको छ । कार्यक्रममा सूचिकृत हुन एक सय भन्दा बढी निवेदन परेको छ ।
कार्यक्रम मार्फत नर्सरी स्थापना, बिरुवा उत्पादन, प्राबिधिक सहयोग, कृषि बजार केन्द्र स्थापना, प्रसोधन केन्द्र, ग्रेडिङ तथा संकलन गर्ने गोदाम, सिचाई, कृषि औजार, यन्त्र उपकरण, प्रर्दशनी, बजारीकरण लगायतका क्षेत्रमा सहयोग गरिने थापाले बताउनुभयो ।
जोनमा समेटिएका कृषकहरुलाई सुन्तला खेती सम्बन्धी योजनाका लागि पचास देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था छ । आगामी आठ वर्ष सञ्चालन हुने कार्यक्रमबाट सुन्तलाको उत्पादन वृद्धी, गुणस्तर सुधार र आयात न्युनीकरण गर्ने लक्ष्य छ ।
बेनी नगरपालिकाको भकिम्ली, बास्कुना, बाग्लुङ नगरपालिकाको भकुण्डे र सिगाना, काठेखोला गाउँपालिकाको रेश र बिहुँ, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, शालिजा र वनौमा कार्यक्रम लागु हुने भएको छ ।
यसैगरी रघुगंगा गाउँपालिकाको बेग, भगवती, पिप्ले, मंगलाको कुहुँ, बाबियाचौर, बरंजा र अर्मन, मालिकाको देविस्थान र बिम पनि जोनमा समेटिएको छ । कार्यक्रम सञ्चालन गर्न चालू आर्थिक वर्षमा ८४ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।