विकल्प न्यूज/बेनी
पुस १५ गते । पर्वतको जलजला २ बगरफाँट स्थित शिद्धबाबा आधरभूत विद्यालयमा सोमबार देखि सुरु हुने महायज्ञको सवै तयारी पुरा भएको आयोजकले जनाएका छन् । महायज्ञको भोली राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिए महयज्ञका प्रचाप्रसार संयोजक कृष्ण जिसीले बताउनुभयो ।
विद्यालयलाई आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागिएको हो । विद्यार्थी संख्या घटेपछि २०६८ मा पर्वत बेनी स्थित बेनी आधरभूत विद्यालय सँग गाभिएपछि विद्यालय बन्द भएको थियो । २०७४ मा पुन सञ्चालनमा आएको विद्यालयमा ४१ जना अध्यनरत छन् ।
पछिल्लो समय बगरफाँटमा वसोवास गर्ने जनसंख्यामा वृद्धि भएसँगै विद्यालयको आवश्यकता महशुष गरि २०७४ बाट पुन विद्यालय सञ्चालन गरिएको जिसीले बताउनुभयो ।
अहिले बालकक्षा देखि कक्षा एक सम्म पठनपाठन हुने गरेको छ । विद्यालयको भौतिक अवस्था जिर्ण हुनुका साथै शिक्षकहरुलाई तलब खुबाउन पनि समस्या भएपछि महायज्ञको आयोजना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा महायज्ञ आयोजक समितिका संयोजक हिराबहादुर बरुवालले बताउनुभयो । महायज्ञ मार्फत सहयोग संकलन गरेर विद्यालय सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।पण्डित कमलनयन गौतमद्धारा कथाबाचन हुने धनधान्याञ्चल ज्ञान महायज्ञमा ९० लाख रुपियाँ भन्दा बढी संकलन गर्ने लक्ष रहेको महायज्ञको आर्थिक संयोजक भगवती शर्माले बताउनुभयो ।
प्रचारप्रसार, विद्यालय प्राङ्गरणमा आवश्यक पुर्वाधार निर्माण अतिथि ब्यवस्थापन लगायतको तयारी पुरा भएको संयोजक जिसिले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलन भएको रकमबाट भौतिक पुर्वाधारको स्तरउन्नती, प्रत्येक बर्ष कक्षा थप, अग्रेजी तथा नेपाली माध्यमबाट पठपाठन, कम्प्युटर शिक्षा, आधुनिक पुस्तकालय, स्वच्छ वातावरणमा पठनपाठन निर्माणका लागि खर्च गरिने समितिका सचिव मुकुन्द बैरागीले जानकारी दिनुभयो ।
विद्यालयमा कार्यरत ३ जना शिक्षकलाई निजी स्रोतबाट पारिश्रमिकको व्यवस्था राखिएको छ ।