विकल्प न्यूज/बेनी
पुस १३ गते । सदरमुकाम बेनीमा सञ्चालित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । सहकारीको १३ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार अनाथ,अशक्त र जेहेन्दार विद्यार्थीहरुलाई जनही सातहजार पाँचसयका दरले छात्रबृत्ती प्रदान गरेको हो ।
म्याग्दी बहुमुखी क्याम्पसका सोमप्रसाद सापकोटा, विशेष केसी, रघुगंगा गाउँपालिका ६ अमर मावि पाखापानीका आविश्कार पाइजा र नेहा शेरपुञ्जालाई सात हजार ५०० रुपैयाँका दरले छात्रबृत्ती वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको सहकारी अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।
साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले सहकारीमा जम्मा भएको अरबौ पुँजीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । म्याग्दीमा दुइसय सहकारीले वार्षिक ४ अरबको कारोवार गर्ने बताउँदै उहाँले सहकारी सवैभन्दा लोकप्रिय र ठूलो संगठन भएको बताउनुभयो । आत्मनिर्भर र स्वावलम्बन बनाउन सहकारीले ठूलो टेवा पु¥याएको उहाँको भनाई थियो । सहकारीहरु समाजवादको आधारस्तम्वका रुपमा रहेको उहाँले दावी गर्नुभयो ।
सभामा बेनी नगरपालिका ८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले सहकारीले जनताको जिवनस्तर उकास्ने खालका योजनाहरु अघि सार्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष झलप्रसाद गौचनको स्वागत र सचिव गणेशप्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रमा कोषाध्यक्ष हिराप्रसाद श्रेष्ठले एक हजार ८७ जना सेयर सदस्यको एक करोड ७४ लाख ९०० रुपैयाँ चुक्ता पुजी रहेको संस्थाले गत आर्थिक वर्षमा १२ करोड ८० लाख ६५ हजार दश रुपैयाँ बचत संकलन र एघार करोड ३५ लाख १५ हजार दश रुपैयाँ लगानी गरेको जानकारी दिनुभयो ।
गत वर्ष दश लाख १५ हजार ४१९ रुपैयाँ बचत भएको बताउनुभयो । साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता हरिप्रसाद पाइजा र कारोबारकर्ता ङङबहादुर थापालाई सम्मान तथा नयाँ सदस्यहरुलाई सेयर प्रमाणपत्र वितरण गरिएको थियो ।