विकल्प न्यूज/बेनी
पुस १३ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकामा सञ्चालित सम्पत्ति तथा भूमिकर संकलन शिविरको पाँचौ दिन सम्म पाँचलाख ३० हजार एक सय २१ रुपियाँ राजश्व संकलन भएको छ ।
गाउँपालिकाका १,२,३ र ४ वडामा सम्पन्न शिविरमा ७ सय ४९ जनाबाट सम्पत्ति तथा भूमिकर वापतको उक्त रकम संकलन भएको टोलीका संयोजक तथा सम्पत्ती तथा भुमिकर फोकल पर्सन भेषनाथ आचार्यले जानकारी दिनुभयो ।
स्थानीयबासीको सुबिधाका लागि गाउँपालिकाले हरेक वडामा पुगी कर संकलन गर्नका लागि शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले जानकारी दिनुभयो । गाउँमै कर भुक्तानीको सुविधा दिनका लागि गाउँपालिकाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । शिविर पुष २२ गते सम्म सञ्चालन हुने छ । जलजलामा १०२४ करदाता रहेका छन् । हाल सम्म शिविर र कार्यालयमा गरी ७ लाख ९५ हजार ८ सय ३८ रुपियाँ राजश्व संकलन भएको फोकल पर्सन आचार्यले जानकारी दिनुभयो ।