ताजा समाचार:
Search

अन्नपूर्ण गाउँपालिकाको गुरुयोजना निर्माण सुरु

विकल्प न्यूज/बेनी
पुस १२ गते ।  

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गुरुयोजना निर्माण सुरु गरेको छ । गाउँपालिकाको अवस्था, समस्या, सम्भावना र आगामी दिनमा गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न गुरुयोजना बनाउन लागिएको हो ।

गुरुयोजना निर्माणका विषयमा छलफल गर्न गाउँपालिकाको केन्द्र पोखरेबगरमा बिहीबारदेखि सरोकारवालाहरुको अन्तरक्रिया सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने छलफलमा जनप्रतिनिधि, अगुवा, राजनितिककर्मी र वुद्धिजीवीहरुको सहभागिता रहेको छ । 

छलफलमा सहभागिहरुले पर्यटन, जलविद्युत, कृषि र पशुपालन तथा वनपैदावरको क्षेत्रमा रहेको सम्भावनाको परिचालन, भौतिक, शैक्षिक, सामाजिक र मानविय विकाससँगै आयआर्जन र रोजगारीको अवसर सिर्जनामा मद्दत पुग्ने योजनालाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

परामर्शदाता कम्पनी अस्पिसियस इन्भाइरोमेन्टलले गाउँपालिका र वडाका जनप्रतिनिधिहरुको योजना र सरोकारवालाहरुको सुझावको आधारमा गुरुयोजना बनाउन सबै वडाको स्थलगत अध्ययन समेत गर्ने प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताउनुभयो ।

प्राथमिकता र ठोस योजनाको अभावमा सिर्जना भएको अलमल र अन्यौलता हटाएर लक्ष्य हाँसिल गर्न सहज बाटो पहिल्याउन गुरुयोजना बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

जलविद्युत, पर्यटन, कृषि, पशुपालन र वनपैदावारको क्षेत्रमा प्रशस्त सम्भावना रहेको गाउँपालिकाको विकास प्रक्रियामा तिनीहरुलाई जोड्न गुरुयोजनाले मद्दत गर्ने अध्यक्ष पुनको भनाई छ ।

अध्यक्ष पुनको अध्यक्षता, नायव सुब्बा कुलप्रसाद आचार्यको सञ्चालन र वडा न. ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको स्वागत मन्तब्यमा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको पुरुषोत्तम खतिवडा, अनन्त कार्की, रामप्रसाद खनाल, राजु खनाल, सञ्जय चन्द र प्रकाशचन्द्र पौडेलले सहजिकरण गर्नुहुने जनाइएको छ ।

भौतिक, सामाजिक विकास तथा समावेशीकरण, यातायात, स्वास्थ्य, शिक्षा, खेलकुद तथा युवा विकास, वन तथा भुसंरक्षण, खनिज सम्पदान, कृषि तथा खाद्य सुरक्षा, पर्यटन, उर्जा, संचार तथा सूचना प्रबिधि लगायतको विषयमा केन्द्रित भएर गुरुयोजना तयार पारिने उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

गुरुयोजनामा समावेश गर्ने विषयको बारेमा यसअघि ८ वटै वडाका जनप्रतिनिधि र सरोकारवालाहरुबीच पनि छलफल गरिएको थियो ।