ताजा समाचार:
Search

बेनी–जोमसोम सडकमा पहिरोको जोखिम अध्ययन सुरु

विकल्प न्यूज/बेनी
पुस ९ गते । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा भुगर्भ बिद्हरुको टोलीले स्थलगत अध्ययन सुरु गरेका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको नारच्याङ पुल देखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नती र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राबिधिक टोली ल्याएको हो ।

जियोटेक सञ्जय देवकोटा, राजमार्ग विज्ञ सञ्जितकुमार झा र वातावरणविद् पूर्णचन्द्र राल राजभण्डारीको टोलीले आइतबारदेखि गुइठे, जलथले, काभ्रे, लेते लगायत भुरुङ तातोपानी देखि कोवाङ सम्मको सडक वरपरको क्षेत्रमा पहिरोको जोखिमको बारेमा अध्ययन सुरु गरेको शर्मा–गजुरमुखी कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताउनुभयो ।

निर्माण कम्पनीले आफ्नै खर्चमा विज्ञहरु ल्याएर अध्ययन सुरु गरेको क्षेत्रीले बताउनुभयो । विज्ञ टोलीले दिने प्रतिवेदनको आधारमा आयोजनासँग समन्वय गरेर सडकको संरचना तयार पारिने क्षेत्रीको भनाई छ । गत वर्षातमा बाढी र पहिरोका कारण शर्मा–गजुरमुखी कम्पनीले काम गरिरहेको क्षेत्रमा पाँच करोड रुपैयाँ मूल्य बरारबको भौतिक क्षति पु¥याएको दावी गरेको छ ।

भुगोल अनुकुल, वातावरणलाई असर नपुग्ने गरी संरचना बनाएर दिगो र क्षति न्युनीकरण गर्ने उद्देश्यले प्राबिधिक अध्ययन सुरु गरिएको क्षेत्रीले बताउनुभयो । बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडकलाई कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ ।

वि.स २०७६ मंसिर सम्म काम सक्ने छ । आयोजनाबाट कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजहरुलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य छ । बर्खा, विपद् र चाडवाडको समयमा सवारीको चापका कारण प्रभावित बनेको कामले हिउँद लागेपछि केही गति लिएको छ ।
मंसिर महिनादेखि सडक स्तरोन्नतीको लागि बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी आवत जावत रोकेर काम गर्ने ब्यवस्था मिलाइएको छ । बिहान साढे सात देखि दिउँसो साढे ११ बजेसम्म र दिउँसो साढे दुई बजेदेखि साढे छ बजेसम्म सवारी आवात जावत रोकेर सडक निर्माणको काम गरिदै आएको छ । रासस