जलजलामा सम्पत्ति तथा भूमिकर संकलन शिविर सुरु

विकल्प न्यूज/बेनी
पुस ७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले सम्पत्ति तथा भूमिकर संकलन गर्न शिविर सुरु गरेको छ । सेवाग्राहीलाई घरदैलोमा सेवा प्रवाह गर्न शिविरको आयोजना गरेको हो ।

शनिवार ३ नम्बर वडा माझफाँटबाट शिविर सुरु गरिएको छ । पहिलो दिन शिविरमा दुइजनाले व्यवसाय दर्ता र २६ जनाबाट सम्पत्ति तथा भूमिकर वापत २४ हजार रुपियाँ संकलन भएको शिविरको नेतृत्व गर्नुभएका गाउँपालिकाका प्रशासन शाखा प्रमुख तथा सम्पत्ति एवम भुमिकर फोकल पर्सन भेषनाथ आचार्यले बताउनुभयो ।

१७ दिन सम्म सञ्चालन हुने शिविर गाउँपालिकाको ९ वटै वडामा पुगी व्यवसाय दर्ता तथा नविकरण गर्ने र सम्पत्ति तथा भूमिकर संकलन गरिने गाउँपालिकाले जनाएको छ । प्रशास शाखा प्रमुख आचार्यको नेतृत्वमा गाउँपालिकाका कर्मचारी सूचना प्रविधि अधिकृत मिलन मल्ल ,शुशिला शर्मा ढकाल, अनिता कुमारी शर्मा, उदय चन्द्र श्रेष्ठ र इन्द्र बहादुर खत्री सहितको टोली खटिएको छ । प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले शिविरको अनुगमन गर्ने आचार्यले बताउनुभयो । शिविरबाट गाउँपालिकावासीहरुले सहज र सरल तरिकाले व्यवसाय दर्ता र नविकरण सम्बन्धि सेवा लिने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।