नव कालिगण्डकी सहकारीको पौने पाँच करोड लगानी

विकल्प न्यूज/बेनी
पुस १ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा सञ्चालित नव कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि,पशुपालन,शैक्षिक,गृह निर्माण,व्यापारिक र वैदेशिक क्षेत्र गरी पौने पाँचकरोड रुपियाँ लगानी गरेको छ ।
आइतवार पर्वत बेनीमा आयोजित सहकारीको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनमा संस्थाले गत आर्थिक वर्ष २०७४/०७५ मा चार करोड ८९ लाख ६९ हजार एकसय ५२ रुपियाँ ऋण लगानी गरेको जानकारी गराइएको थियो ।
जलजला गाउँपालिकालाई कार्यक्षेत्र बनाएर २०६३ मा स्थापना भएको सहकारीमा एकसय ३२ जना शेयर सदस्यहरु छन् ।

सहकारीको शेयर पुँजी एक करोड ६६ लाख २६ हजार ६ सय रुपियाँ रहेको छ भने निक्षेप चार करोड ३५ लाख ९४ हजार ८ सय तिस रुपियाँ रहेको छ । गत आर्थिक वर्षमा करिब सात करोड ५८ लाख रुपियाँ बरावरको आर्थिक कारोवार गरेको सहकारीको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष एवम् जलजला गाउँपालिका ४ नम्बर वडाका वडाअध्यक्ष भिष्म मल्लले सहकारीले समाजमा सामुहिक भावनाको वृद्धि गर्ने बताउनुभयो । नाफा कमाउन मात्र नभएर सामाजिक सेवाका क्षेत्रमा पनि सहकारीले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीको माध्यमले समाजमा आर्थिक तथा सामाजिक विकास गर्न सकिने भएकाले उत्पादनशिल क्षेत्रमा सहकारीले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो ।

पछिल्लो समय सहकारीहरुले आफ्नो मुल्यमान्यताहरुलाई विर्सदै गएको बताउँदै उहाँले सहकारी भावना अनुसार अघि वढ्नु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रमा विशिष्ट अतिथि ३ नम्बर वडाका वडा सदस्य शसी शर्मा आचार्य, उद्योग वाणिज्य संघ जलजला उपशाखाका महासचिव शेषराज रेग्मी,सहकारीका संस्थापक सदस्य रुद्र गुरुङ,ग्रामप्रकाश माविका प्रअ भवानी संकर पौडेल र शेयर सदस्यका तर्फबाट रामचन्द्र पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष देविलाल चापागाईले संस्थाको बार्षिक प्रतिवेदन,सचिव ठाकुरप्रसाद रेग्मीले प्रगति प्रतिवेदन,कोषाध्यक्ष चित्रबहादुर घर्ती क्षेत्रले आर्थिक प्रतिवेदन लेखासंयोजक लोकनाथ रेग्मीले प्रस्तुत गर्नुभएको लेखाप्रतिवेदन बन्दसत्रले पास गरेको छ ।

संस्थाका अध्यक्ष चापागाईको अध्यक्षता,उपाध्यक्ष डिलबहादुर बरुवालको स्वागत र सचिव ठाकुरप्रसाद रेग्मीको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । यसै गरी अधिवेशनले डिल बहादुर बरुवालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको प्रबन्धक सरोज पौडेलले जानकारी दिनुभयो ।

यसै गरी उपाध्यक्षमा चित्र बहादुर घर्ती क्षेत्री,सचिव ठाकुरप्रसाद रेग्मी,कोषाध्यक्ष चित्रलाल रेग्मी,सहसचिव मिनप्रसाद रेग्मी रहनुभएको छ । यस्तै महिला सदस्यहरुमा चन्द्रीका सापकोटा र लक्ष्मी लामिछाने चयन हुनुभएको छ ।

सदस्यहरुमा नरबहादुर थापा,क्या. शिब बहादुर कार्की,श्रीलाल चापागाई,कलाधर रेग्मी चयन भएका छन् । शेषराज रेग्मीको संयोजकत्वमा रहेको लेखासमितिमा रामचन्द्र पौडेल र धु्रबराज रेग्मी सदस्यमा चयन भएको सचिव रेग्मीले जानकारी दिनुभयो ।