म्याग्दी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल हुँदै

विकल्प न्यूज/बेनी
मंसिर २६ गते ।

बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको बार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना गरिएको हो ।
पौस १४ गतेबाट सुरु हुने प्रतियोगितामा कक्षा ११ देखि माथिल्लो तहमा पठनपाठन हुने क्याम्पस तथा कलेजहरुले सहभागीता जनाउन सक्ने स्ववियुका कार्यबाहक सभापती इश्वर सुवेदीले जानकारी दिए ।

विद्यार्थीहरुमा रहेको खेल प्रतिभालाई प्रष्फुटन गराउने उदेश्यले आयोजित प्रतियोगितामा बिजेता हुनेलाई छात्रतर्फ नगद रु ४० हजार र उपबिजेतालाई २५ हजार तथा छात्रातर्फ बिजेतालाई नगद रु २५ हजार र उपबिजेतालाई नगद रु १५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने आयोजकले जनाएको छ । त्यसैगरि सेमिफाइनलबाट बाहिरिने टिमलाई समेत छात्रतर्फ नगद रु ८ हजार र छात्रातर्फ नगद रु ५ हजार पुरस्कार प्रदान गरिने स्ववियूका सदस्य रेशम कटुवालले बताए ।

प्रतियोगिता सञ्चालनको लागि रु ५ लाख ४१ हजार खर्च अनुमान गरिएको छ । क्याम्पस सञ्चालक समितिबाट रु ७० हजार बजेट स्विकृत भएको र बाँकी रकम जुटाउन सहयोग संकलन अभियान थालिएको स्ववियूका अर्का सदस्य रश्मी रोका मगरले जानकारी दिइन् ।

प्रतियोगितालाई सफल बनाउन विभिन्न ८ वटा उपसमिति समेत गठन गरि तयारीलाई अघि बढाईएको छ । क्याम्पसको पौस १८ गते विविध कार्यक्रम सहित बार्षिकोत्सव मनाउने तयारी गरिएपनि मुल समारोह अघि खेलकुद प्रतियोगिताको साथै विविध आन्तरिक प्रतियोगिताहरु समेत समावेश गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए ।

‘‘ नियमित पठनपाठन पनि जारी हुन्छ, आन्तरिक प्रतियोगिताहरु पनि हुन्छन्, बार्षिकोत्सवलाई सफल बनाउन आबश्यक तयारी थालिएको छ’’–उनले भने ।

आन्तरिक खेलकुद प्रतियोगिता पौस ११ गतेबाट सुरु हुने क्याम्पसले जनाएको छ । समुदायस्तरबाट सञ्चालित यस क्याम्पसमा समुदायलाई समेत क्याम्पसप्रति नियमित रुपमा जोडिराख्नको लागि खेलकुद प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।