डिभिजन वन कार्यालय म्याग्दीको बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी
मंसिर २४ गते । संघियता कार्यान्वयन सँगै जिल्ला वन कार्यालयलाई विस्थापीत गरेर गण्डकी प्रदेश सरकार मातहत स्थापना भएको डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/०७६ को कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । डिभिन वन कार्यालयको तालिम हलमा सरोकारवालाको सहभागितामा संघिय र प्रदेश सरकारबाट प्राप्त भएका कार्यक्रम र योजनाहरु सार्वजनिक गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजनल वन अधिकृत हरिषचन्द्र सापकोटाले संघ र प्रदेश सरकारबाट प्राप्त भएका कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । वन अधिकृत सापकोटाले प्रदेश सरकारबाट दुइ करोड ३१ लख २० हजार र संघिय सरकारबाट प्राप्त करिब दुइकरोड भन्दा वढी रुपियाँ बरावरको कार्यक्रम प्राप्त भएको जानकारी दिनुभयो ।

राष्ट्रिय वन विकास कार्यक्रमका लागि ४४ लाख पचास हजार,वृक्षा सुधार तर्फ वृक्षारोपण तथा निजी वन विकासका लागि २२ लाख,जडीवुटी विकास कार्यका लागि ९० लाख ७६ हजार,वन्यजन्तु संरक्षण १ लाख ४४ हजार,सामुदायिक,कबुलियती वन विकास १४ लाख ४० हजार,नेपाल स्वस्थ्य वातावरण अभियान ९० हजार र पार्क निर्माणका लागि ३० लाख रुपियाँ बजेट प्राप्त भएको डिभिजनल वन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यक्रमहरु लैजादा स्थानीय तह सँगको सहकार्यमा लैजान सुझाव दिइएको थियो । जिसस प्रमुख केसीले बजेट कार्यान्वयनको अवधि छोटो भएको बताउँदै उहाँले छिटो छरितो विधि अवलम्बन गरेर कार्यक्रमलाई प्रभावकारी रुपमा लैजान सुझाव दिनुभयो ।

जडीवुटी विकासको कार्यक्रमका लागि स्थानीय तहसँग राय सल्लाह र सिफारिस लिएर कार्यान्वयन गर्ने निर्णय भएको सहायक डिभिजनल वन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो । उहाँका अनुसार जिल्लामा दुइवटा पार्क निर्माणका लागि आएको बजेट मंगला गाउँपालिकाले निर्माण गर्न लागेको ज्येष्ठ नागरिक पार्क र नयाँ पर्यटकीय स्थलका रुपमा विकास हुनलागेको लब्लीहिलमा बनाउनका लागि सहयोग गर्ने निर्णय भएको छ ।

कार्यक्रममा स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि,सहायक प्रमुख जिल्ला अधिकारी,गैरसरकारी संस्थाका प्रतिनिधि,पत्रकार लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।