१७ मङ्सिर, बागलुङ ।कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ ।
सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख वजेट छुट्याएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए । उनका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् ।
नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । ‘वैज्ञानिक हिसाबले रकम बाँड्छौँ’ नगरप्रमुख नेपालीले भने, ‘बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।’ खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ ।
कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । गाउँको जग्गा बाँझिदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘बसाइँसराइ बढ्दो छ, खेती घट्दै छ’, उनले भने, ‘परम्परागत खेती जोगाउन सानो प्रयास थालेका हौँ ।’
मानिसले कोदोका परिकारमा रुचि देखाउन थालेकाले मकै, कोदोजस्ता बाली संरक्षण गर्नुपर्ने उनको भनाइ छ । स्वस्थ शरीरका लागि कोदोका परिकार उत्तम मानिने हुँदा शहरी क्षेत्रमा पनि माग छ । नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उन्नत बीउ, मल, कृषियन्त्र पनि उपलब्ध गराउनेछ ।
किसानले पुरस्कार रकम कोदो बाली प्रवर्धनमै खर्च गर्नुपर्नेछ । पछिल्लो समय कोदो बालीको उत्पादन घट्दै गएको छ । अन्य बालीको तुलनामा उत्पादन कम हुने र लागत बढी लाग्ने हुँदा कोदोमा किसानको आकर्षण घटेको हो ।
कोदोबाट रोटी, ढिँडोजस्ता परिकार बनाइन्छ । उच्च पहाडी र मध्यपहाडी क्षेत्रमा कोदो खेती गरिन्छ । तराईका कतिपय जिल्लामा समेत कोदो खेती गर्न थालिएको छ । परम्परागत बाली संरक्षणमा नगरपालिकाको गरेको पहलप्रति किसान खुशी छन् । कृषिमा अनुदान बढाउनुपर्ने र यान्त्रीकीकरणमा सघाउनुपर्ने किसानको माग छ । onlinekhabar.com