बेनीमा हुने जेसीज कप फुटबलको तयारी पुरा

विकल्प न्यूज/बेनी
मंसिर ९ गते ।मंगलबार देखि बेनीमा सुरु हुने जेसिज कप फुटबल प्रतियोगिता २०१८ को सवै तयारी पुरा भएको छ । अन्तर माध्यमिकस्तरीय जेसिज कपको यो १७ औं संस्करण हो । आइतवार जेसिज सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सवै तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन ।
सोमबार तिन बजे जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसीले उद्घाटन गर्ने फुटबल प्रतियोगिताको आर्थिर्क,प्रचारप्रसार र पूर्वाधार निर्माण लगायत सवै तयारी पुरा भएको खेल संयोजक तथा जेसिजका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार विहान देखि बेनीको खुल्ला मञ्चमा फुटबल प्रतियोगिता सुरु हुने छ । प्रतियोगितामा २५ देखि ३० टिम सहभागि हुने अपेक्षा लिएको अध्यक्ष कमल विश्वकर्माले बताउनुभयो ।
प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका प्रवक्ता सुजन बरुवालले जानकारी दिनुभयो ।
अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । सात लाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक रहेको म्याग्दी जेसीजका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
बेनीका दिवंगत पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उहाँका परिवारले दुई लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विगत १७ वर्षदेखि बेनीमा निरन्तर रुपमा म्याग्दी जेसिजले चन्दा सहयोग जुटाएर प्रतियोगिता गर्दै आएको छ ।