सातौं कर दिवसका अवसरमा बेनीको कुमारी सहकारी सम्मानित

विकल्प न्यूज/बेनी
मंसिर ७ गते । 46510394_1921672371474360_5054785686842900480_nआन्तरिक राजश्व कार्यालय बागलुङले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा बागलुङमा आयोजित कार्यक्रममा बेनीको कुमारी बहुउद्देयीय सहकारी संस्था लिमिटेढलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा म्याग्दी जिल्लाबाट सवैभन्दा वढी आयकर दाखिला गरेको भन्दै उत्कृष्ट करदाताका रुपमा सहकारीलाई सम्मान गरिएको हो ।

‘कर समृद्ध नेपालः सुखी नेपालीको भर’ भन्ने नाराका साथ मनाइएको सप्ताहव्यापी कार्यक्रमको समापनमा आयोजित कार्यक्रममा साबिकको धौलागिरि अञ्चलका ४ जिल्लाका करदातालाई सम्मान गरिएको छ ।

आर्थिक बर्ष २०७४/७५ मा बढी आयकर तिर्ने बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था, मुस्ताङको निलगिरि डिस्ट्रीलरी उद्योग, म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्था र पर्वतको ब्रदर्श हार्डवयर एण्ड सप्लायर्सलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले करले नै देशलाई आर्थिक तथा भौतिक विकासमा अगाडी लैजाने भएकाले राज्यलाई कर तिर्न हिच्किचाउन नहुने बताउनुभयो ।

कतिपय व्यापार व्यवसाय तथा संघ संगठनले भएको कारोबारलाई लुकाएर कर नतिर्ने भएपनि सम्मानित भएका संस्थाको सिको सबैले गर्नुपर्ने उनको भनाई थियो । मुख्य न्यायाधीश सिवाकोटीले प्रत्येक नागरिकले प्रदान गर्ने कर सही ठाउँमा सदुपयोग भए मात्रै नागरिक स्तरबाट स्वतस्फुर्त रुपमा कर तिर्ने वातावरण सिर्जना हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा, मुस्ताङको निलगिरि डिस्ट्रीलरी उद्योगका बिष्णुराज हिराचन, म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुवेदार थमबहादुर गर्बुजा र पर्वतको ब्रदर्श हाडवयर एण्ड सप्लायर्सका राजन जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदीको अध्यक्षता र कर अधिकृत सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यालयले मंसिर १ देखि ७ गतेसम्म गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रभातफेरी, करदाता शिक्षा, अन्तरक्र्रिया लगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यसअघि पाँचौ कर दिवसका अवसरमा पनि कुमारी सहकारी सम्मानित भएको थियो । साभारः ई बागलुङ डटकम