क्यान्सरपीडित नेपालीलाई युकेबाट आर्थिक सहयोग

विकल्प न्यूज/बेनी
मंसिर ७ गते ।IMG_0004 म्याग्दीका एकजना क्यान्सरपीडित व्यक्तिलाई युकेबाट बिहीबार आर्थिक सहयोग प्राप्त भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धार घरभई हाल युकेमा बस्ने ५७ जनाले पाउद्वारका प्रसाद नेपालीलाई आर्थिक सहयोग गरेका हुन् ।

पाउद्वार समाज युकेमार्फत सहयोग अभियान सञ्चालन गरी क्यान्सरपीडित नेपालीलाई नगद ८१ हजार ८२५ रुपैयाँ उपलब्ध गराइएको छ । विगत १ वर्षदेखि क्यान्सर रोगबाट पीडित नेपालीको उपचारका लागि पाउद्वार समाज युकेका अध्यक्ष तेजबहादुर शेरपुञ्जा, उपाध्यक्ष कृष्णबहादुर तिलिजा, सचिव तुलचन्द्र तिलिजा र कोषाध्यक्ष छकबहादुर तिलिजाको पहलमा आर्थिक सङ्कलन गरिएको थियो ।

उक्त रकम पाउद्धार समाज युकेका पूर्व कोषाध्यक्ष गनबहादुर तिलिजाले महिला अधिकारकर्मी दिवाकुमारी पुनको उपस्थितिमा क्यान्सरपीडित नेपालीलाई हस्तान्तरण गरेका थिए । समाजमार्फत स्वदेशमा विभिन्न समयमा आवश्यकता अनुसार सहयोगलगायत कार्यक्रमहरु सञ्चालन गरिँदै आएको छ ।