दग्नाममा विद्यार्थी र युवाहरुलाई उद्घोषण र पत्रकारिताबारे प्रशिक्षण

विकल्प न्यूज /बेनी
म्याग्दी, ५ मङ्सिर ।

????????????????????????????????????

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता युवा क्लबले आफ्नो बार्षिकोत्सव बुधवार विविध रचनात्मक कार्यक्रम सहित मनाएको छ । क्लब स्थापनाको १० औँ बार्षिकोत्सवको अवसरमा दग्नाममा विद्यार्थी र युवायुवतिहरुलाई उद्घोषण र पत्रकारिताबारे प्रशिक्षण गरिएको छ ।

जनता माध्यमिक विद्यालयका विद्यार्थी एवम क्लबमा आबद्ध युवायुवतिहरुमा उद्घोषणकलाको क्षमता अभिबृद्धि र पत्रकारीताबारे रुचि जगाउन कार्यक्रम गरिएको क्लबका अध्यक्ष गुन पुनले बताउनुभयो । कार्यक्रममा म्याग्दीमा क्रियाशिल पत्रकारद्धय कमल खत्री र हरिकृष्ण गौतमले सहजीकरण गर्नुभएको थियो ।

सहजकर्ताद्धय खत्री र गौतमले उद्घोषण कला, रेडियो प्रस्तोता र पत्रकारीताको बिषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले युवाक्लबहरु खेलकुदमा मात्रै सिमित भएको सन्दर्भमा एकता युवा क्लबले आयोजना गरेको उद्घोषण र पत्रकारीताबारे प्रशिक्षण कार्यक्रमले विद्यार्थी र युवाहरुलाई सकरात्मक बाटोमा अघि बढाउन र आफ्नो क्षमतामा विकास गर्न सकरात्मक सहयोग पुगेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रबारे ग्रामीण बस्तीका विद्यार्थी र युवायुवतिहरु बेखबर बनीरहेको सन्दर्भमा तालिमले सञ्चार क्षेत्रको महत्व बुझाउन थप सहयोग पुगेको धारणा राख्नुभयो ।

कार्यक्रममा रघुगंगा गाउँपालिका–४ का वडा अध्यक्ष एकबहादुर गर्वुजाले एकता युवा क्लबले स्थापना कालदेखि नै समाजमा गर्दै आएका कार्यहरु रचनात्मक रहेको भन्दै आगामी दिनमा वडा कार्यालयले क्लबसंग समन्वय गरि अन्य सामाजिक कार्यहरु गर्ने योजना बनाएको बताउनुभयो ।
क्लब अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष एवम वडा नम्बर ४ का वडा सदस्य कृष्ण बहादुर गर्वुजाको स्वागत र सचिब कृष्ण गर्वुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बार्षिकोत्सवको अवसरमा क्लबले जनता माविमा म्युजिकल चियर, अन्धनिसानी, चम्चा दौड लगायतका प्रतियोगिता समेत सम्पन्न गरेको छ । सो अवसरमा पत्रकारद्धय खत्री र गौतमलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।