विकल्प न्यूज/जलजला
कार्तिक २० गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ र ८ का पहिरो पीडितहरुलाई आवास निर्माण गर्न प्रवासी पर्वतेलीहरुले सघाउने भएका छन् ।
अन्तराष्ट्रिय पर्वत सेवा समाजले पीडितहरुको आवास बनाउनका लागि गाउँपालिका सँग भएको हो । आवास बनाउनका लागि जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाजका बिचमा सोमबार सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र समाजका अध्यक्ष पुरन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार समाजले एकमुष्ठ रुपमा ९ लाख रुपैंया सहयोग गरिने अध्यक्ष पुरन गिरीले बताए ।‘गाउँपालिकाले आवास बनाउने क्रममा हामीले सहयोग पुगोस भनेर एकमुष्ठ सहयोग गर्न लागेका हौ’ उनले भने ‘आवास बनाउन अपुग रकम गाउँपालिका र अन्य सहयोगी निकायबाट जुटाइने सहमति भएको छ’
पहिरो पीडितका लागि आवास बनाउन अन्तराष्ट्रिय पर्वत समाजका सदस्य रहेका बिभिन्न मुलुकमा रहेका प्रवासी पर्वतेलीहरुले सहयोग अभियान सञ्चालन गरेका थिए । अभियानबाट संकलित रकम समाजले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सम्झौता अनुसार गाउँपालिकाले एक बर्ष भित्रमा आवास निर्माण र मर्मतको काम सम्पन्न गरि सक्नुपर्ने अध्यक्ष गिरीले जानकारी दिए ।