१७ औं जेसीजकपको तयारी सुरु

विकल्प न्यूज/बेनी
कार्तिक १८ गते । DSC_0095बेनीमा मंसिर ११ गते देखि १५ गते सम्म सञ्चालन हुने जेसिज कप फुटबल प्रतियोगिता २०१८ को तयारी सुरु गरिएको छ । म्याग्दी जेसिजले प्रत्येक वर्ष आयोजना गर्ने अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको यो १७ औं सस्करण हो ।

म्याग्दी जेसीजले आइतबार विहान बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ११ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सञ्चालनका लागि महासचिव विरेन्द्र श्रेष्ठको मूल संयोजकत्वमा १८ वटा उपसमिति गठन गरेर तयारी सुरु गरेको जनाएको छ ।

प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको प्रचारप्रसार उपसमितिका संयोजक सुजन बरुवालले जानकारी दिनुभयो ।

अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

सात लाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक रहेको म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले बताउनुभयो ।

बेनीको हुलाक चोकमा रहेको नरेश मोवाइल सेन्टरले प्रतियोगितालाई पचासहजार रुपियाँ सहयोग गरि सहप्रयोजक भएको उहाँले बताउनुभयो ।
बेनीका दिवंगत पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उहाँका परिवारले दुई लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।