धौलागिरी सहकारीको ३२ करोड ८८ लाख लगानी

विकल्प न्यूज/बेनी
असोज २४ गते । DSC_0339म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १११७ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड ७३ लाख ८० हजार दुईसय, निक्षेप सङ्कलन ३१ करोड १२ लाख ४६५ र लगानी ३२ करोड ८८ लाख ६८ हजार ९५३ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।
साधारणसभाको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले सहकारी संघसंस्थाले कृषि, जलविद्युत र पर्यटनका क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले ठूला औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने भन्दै राज्यले लिएको तीनखम्बे अर्थनीति अनुसार उत्पादन र व्यावसायिकमूलक क्षेत्रमा लगानी वृद्धि गरेर देशलाई अब आर्थिक समृद्धितर्फ अगाडि लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । DSC_0338बेनी नगरपालिका–४, का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल र म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ ढुङ्गानाले सहकारीले आर्थिक रुपमा विपन्न परिवारको जीवनस्तरमा सुधार ल्याउन सक्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीमार्फत आर्थिक कारोबारका साथसाथै सामाजिक क्षेत्रमा लगानी गरिएको बताउनुभयो । उहाँले आगमी दिनमा सामाजिक क्षेत्रमा गरिने सहयोगलाई अझै वृद्धि गर्दै लैजाने सोच रहेको बताउनुभयो ।DSC_0337सहकारीका सचिव रामजीप्रसाद सुवेदीले सहकारी ऐनमा नगरपालिकालाई पाँच प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएपनि नेपाल सरकारको नियमअनुसार २० प्रतिशत कर तिर्नुपर्ने बाध्यता रहेको हुँदा नीति परिवर्तन हुनुपर्ने बताउनुभयो । DSC_0336कार्यक्रमको अवसरमा सहकारीले स्थापना गरेको शिक्षा कोषबाट तीनवटा माध्यमिक विद्यालय र एउटा क्याम्पसमा अध्ययनरत ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा म्याग्दी बहुमुखी क्याम्पस स्नातक तहको शिक्षा सङ्काय अन्तर्गत चौंथो वर्षमा अध्ययनरत दृष्टिविहिन छात्र गोपाल खत्रीलाई नगद ३३ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यसैगरी प्रकाश माविको कक्षा १२ मा अध्ययनरत सोनी जिसीलाई ३१ हजार दुईसय रुपैयाँ उपलब्ध गराइएको सहकारीले जनाएको छ । DSC_0335त्यस्तै जामुनाखर्क मावि अर्थुङ्गेको कक्षा १२ मा अध्ययनरत रिता आचार्यलाई २५ हजार पाँचसय र बेनी सामुदायिक माविमा अध्ययनरत प्रकाश पुनलाई १३ हजार दुईसय रुपैयाँ छात्रवृत्ति सहयोग गरिएको छ । सहकारीद्वारा बेनपा–२, ज्यामरुककोटकी स्वर्गीय कल्पना बोहोराको छोराछोरीको शिक्षादिक्षाका लागि १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । सोही अवसरमा स्व. बोहोराको परिवारलाई जापानमा सरिता किसान लगायतको पहलमा सङ्कलित १९ हजार २०५ रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । DSC_0334यसैगरी संस्थामा लामो समय देखि कार्यरत रही उत्कृष्ट कार्य गरेको भन्दै कर्मचारी  दुर्गा केसीलाई नगद २१ हजार नगद सहित सम्मान गरिएको छ ।

साधारणसभामा संस्थाका सचिव रामजीप्रसाद सुवेदीले प्रगति र कोषाध्यक्ष चन्द्रकुमार केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र शेयर सदस्य सन्तोष रावलले मन्तव्य राखेको कार्यक्रम सहकारीका अध्यक्ष लिला बानियाँको अध्यक्षता, उपाध्यक्ष अमृतलाल श्रेष्ठको स्वागत र सचिव रामजी सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रताप बानियाँ /तस्विरहरु ठाकुरप्रसाद आचार्य