अगन्धर तिवारी/पर्वत
असोज १८ गते । चार दिनअघि धौलागिरिको भ्रमणमा निस्किएका कास्कीका रमेश पौडेल र टंक अधिकारीलगायतको टोलीले धौलागिरि गेटदेखि मालढुंगासम्म सडक आसपासका होटलमा दूध चिया खान खोजे । कतै भेटेनन् ।
‘बागलुङ पुगेर मात्रै चियाको तिर्सना मेटाइयो,’ पौडेलले भने । ग्यास्ट्रिकको समस्या भएकाले हिजोआज दूध हालेको चिया पिउँदैनन् । तर, दूध चिया पिउने तलतल लाग्नेको जमात ठूलो छ । राजमार्ग आसपासमा होटल रेस्टुरेन्ट नभएका पनि होइनन् । न त पशुपालन नै घटेको छ । मदिरा र मदिराजन्य पेय पदार्थ जहाँतहीँ पाइन्छन् तर, दूध र दूध हालेको चिया सहजै पाइँदैन ।
विशेष गरी बिहानको समय र झरी परेका बेलाका यात्रुले दूध र चिया बढी रुचाउने गर्छन् । तर, पसलेले मदिराकै बिक्रीमा जोड दिने गर्दा चिया सुलभ छैन । पौडेलले भने, ‘पर्वतमा दूध बिकेन भन्ने खबर सुन्न पाइन्छ । खान खोज्दा कतै पाइँदैन । यहाँको दूध कहाँ जान्छ ?’ बुधबार बिहानै मुक्तिनाथ जान हिँडेका हेटौंडाका मणिदत्त गौतमको टोलीले दूध खोज्दै नागडाँडादेखि कुश्मा आइपुगेको बताए । ‘पोखराबाट ५ बजे नै हिँडियो । बाटोमा जाडो भएर दूध खान खोज्दा कतै भेटिएन,’ उनले भने, ‘जाँडरक्सीका ठूल्ठूला बोर्ड जतासुकै छन् । गाईभैंसीको दूध पाइन्छ भनेर लेख्ने चलन छैन, सजिलै पाइने पनि रहेनछ ।’
सोह्रश्राद्धमा पितृतर्पणका लागि मुक्तिनाथ जाने यात्रुले शुद्ध भोजन गर्ने हुँदा राजमार्गमा दूध र सफा खाना खोजी गर्छन् । पर्वत दूधमा आत्मनिर्भर भएको तीन वर्ष पुगिसक्यो । जिल्ला पशुसेवा कार्यालयले ०७३ साउनमा सार्वजनिक गरेको तथ्यांकले आत्मनिर्भर भएको देखाएको थियो । तत्कालीन पशु विकासका अधिकारीले कुश्मा आसपासको माग दैनिक चार हजार लिटर भए पनि उत्पादन पाँच हजार लिटर नाघेको बताएका थिए । उनीहरूले किसानलाई दूध पोखरा पठाउने व्यवस्था गर्न सल्लाह पनि दिएका थिए । पर्वतका विभिन्न भागबाट यतिबेला कास्कीका डेरीमा दूध पठाउने पनि गरिएको छ ।
दुई वर्षमा गाउँका किसानले उत्पादन गरेको दूध बेच्न सहज छैन । फलेवास र कुश्मा नगरपालिकाका केही किसानले कुश्मा बजारमा पोखराका केही व्यवसायीसँगको सहकार्यमा सस्तोमा दूध कास्कीतर्फ पठाउन सुरु गरेका हुन् । मोदी–२ को मोदीखोला बहुउद्देश्यीय सहकारीले कास्कीमा दूध पठाउँछ । मोदीबाट दूध बाहिरिन्छ तर, त्यहाँकै राजमार्ग क्षेत्रका पसलमा पनि दूध किनेर खानेले सहजै पाउँदैनन् । स्थानीय बजारमा बिक्री नभएपछि किसानले प्रति लिटर ४५ रुपैयाँमा कास्कीमा दूध पठाउँदै आएका छन् ।
दूध प्रतिलिटर ५० रुपैयाँमा बिक्न मुस्किल भए पनि डेरी र अन्य व्यवसायीले उपभोक्तालाई एक गिलासकै ४० देखि ५० रुपैयाँसम्म लिन्छन् । यसरी बिक्री गर्दा उनीहरूले उपभोक्ताबाट प्रतिलिटर दूधको १ सय ६० रुपैयाँ सम्म असुल्ने गरेको पाइन्छ । तर, उपभोक्ताले चाहेको बेला दूध पाउनै मुस्किल छ । जिल्लाका बजारमा पनि दूधको बिक्री सहज छैन । डेरी सञ्चालकहरूका अनुसार एक वर्षयता बिक्री आधा घटेको छ । ‘पोहोरसम्म दैनिक साढे पाँच सय लिटर बिक्री थियो,’ ग्रामीण विकास कृषि सहकारीको डेरी सञ्चालक रमेश पौडेलले भने, ‘अहिले तीन सय लिटर पनि बिक्दैन ।’
होटलमा आउने ग्राहकले दूध र चियामा भन्दा मदिराको माग बढी गर्ने गरेको होटल व्यवसायी रामु गौंडेल बताउँछन् । ‘पहिला–पहिला दूध खुब बिक्थ्यो । अहिले दूध माग्ने ग्राहक आउनै छाडे ।’ हिजोआज होटलमा आउने भर्खरका किशोरदेखि उमेर ढल्केकासमेतले दूध पिउन छाडेको उनले बताए । राजमार्गमा आउने ग्राहकले पनि हत्तपत्त दूध र चियाको सट्टामा मदिरा नै पिउने गरेको पोखरा–बागलुङ सडकका होटल व्यवसायी बताउँछन् । ‘दूध सधैं बिक्दैन, नबिकेपछि बिग्रिने भएकाले धेरै समय राख्न पनि सकिँदैन,’ सडकछेउका होटल व्यवसायी तारामान पुनले भने, ‘बिरामी, बच्चाबाहेक दूध खाने ग्राहक खासै आउँदैनन् । नबिकेपछि नियमित अर्डर गर्ने कुरै भएन ।’ दैनिक २० लिटर भन्दा बढी घरेलु र बहुराष्ट्रिय कम्पनीको मदिरा बिक्ने उनको होटलमा दूध भने दुई लिटर पनि बिक्री हुँदैन ।
पर्वतका केही स्थानीय तहहरूले योजनाबद्ध रूपमै मदिराको बिक्री–वितरण र कारोबारमा कडाइ समेत गरेका छन् । तर, कडाइ गर्दागर्दै राजमार्गमा मौलाउँदो मदिरा व्यवसायलाई निरुत्साहित गर्न स्थानीय तहहरूले नै मदिराका प्रचारको बोर्ड हटाएर दूध र दूधजन्य परिकारका बोर्ड राख्न पहल गर्नुपर्ने कुश्मा–७ का वडाध्यक्ष सुवास पौडेल बताउँछन् । ‘होटलमा पसेर दूध अर्डर गर्दा पाखे भन्ने जमाना आयो,’ उनले भने, ‘यो हामीजस्तै सचेत युवाहरूले बनाएको हो । होटलमा दूध माग्दा सहज पाइने वातावरण बनाउनुपर्छ । अनिमात्र हामीजस्ता किसानको पेसाको सम्मान हुन्छ ।’ पौडेल पनि व्यावसायिक किसान हुन् । विगत ८ वर्षदेखि व्यावसायिक कृषि फार्म चलाएका उनको फार्ममा अहिले दर्जनबढी दुधालु गाईंभैंसी छन् ।