किन सुरु भएन बेनी–लभ्लीहिल पदमार्ग निर्माण ?

विकल्प न्यूज/बेनी
असोज १७ गते । DSC_0207एकमहिना अघि पुजापाठ गरेर शिलान्यास गरिएको बेनी – लभ्लीहिल पदमार्गको निर्माण अझै सुरु गरिएको छैन् । शिलान्यासको एकमहिना वितिसक्दा पनि पदमार्ग निर्माण गर्न कुनै सुरसार गरिएको छैन । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि बेनी नगरपालिका,निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुको संयुक्त लगानीमा पदमार्ग निर्माण गर्न थालिएको थियो ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी प्रवासी नेपाली संघ (मोना आइसी)का उपाध्यक्ष ओमनारायण जुग्जालीले गत भदौ ८ गते संयुक्त रुपमा पदमार्गको शिलान्यास गर्नुभएको हो ।

अन्तिम लगत स्टिमेट आएपछि निर्माण सुरु गर्ने तयारी रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । पहिलाको लागतमा थोरै वढ्ने संभावना छ, दुइचार दिन सम्ममा अन्तिम लगत स्टिमेट प्राप्त भएपछि निर्माण थाल्छौं अध्यक्ष कर्माचार्यले भन्नुभयो । तोकिएको समयमै निर्माण सम्पन्न गर्ने गरि सवै प्रक्रियाको थालनी गरिएको उहाँले बताउनुभयो ।

पदमार्ग निर्माणका लागि मोना आईसीले ६ लाख रुपियाँ जम्मा गरिसकेको उहाँले बताउनुभयो । बेनपा २ हाडेभिरको पक्की पुलबाट पदमार्ग निर्माण गरिने छ । बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्लीहिल सम्म पुग्नका लागि मोना – बेनी– लभ्लीहिल पदमार्ग नामाकरण गरिएको छ ।

तिनसय ९५ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलीङ सहितको पदमार्ग निर्माण गर्न यसअघि ५७ लाख ८ हजार ९०६ रुपैयाँ लागत अनुमान गरिएको थियो । पदमार्ग निर्माणमा नगरपालिकाले पचास प्रतिशत, मोनाले चालीस र उद्योग वाणिज्य संघले दश प्रतिशत लगानी गर्ने निर्णय भएको छ ।

लभ्लीहिलबाट म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।