नदी किनारमा र्‍याफ्टिङ क्याम्प

पर्वत — ra 6मोदी गाउँपालिका ३ देउराली का ३२ वर्षीय होम पुनले लामो समय र्‍याफ्टिङ गाइडका रूपमा काम गरे । १२ वर्षसम्म भोटेकोसी, त्रिशूली, मस्र्याङ्दी, तल्लो सेती, माथिल्लो सेती र कालीगण्डकीलगायतका नदिमा र्‍याफटीङ गाइडको काम गरेका उनी केही समय भारत, स्वीटजरल्याण्ड र जापानमा पनि पुगे ।

सानैदेखि साहसिक खेल र पदयात्रामा रमाउने पुनले १३ वर्षको उमेरदेखि नै र्‍याफ्टिङ सिकेका उनी १८ वर्ष पुग्दा व्यावसायिक रूपमै जलयात्राको पथप्रदर्शक भइसकेका थिए । विदेशमा तीन वर्ष काम गरेका र स्वदेशमा पनि त्यही कामको अनुभवबाट खारिएका उनले अहिले आफ्नै गृहजिल्लाको कालीगण्डकी नदी किनारलाई जलयात्रा ‘र्‍याफ्टिङ क्याम्प’ सञ्चालन गरेका छन् ।

केही समय पोखराको लेकसाइडमा र्‍याफ्टिङ कम्पनी पनि चलाएका थिए । उक्त कम्पनीको सम्पर्कमा आउने विदेशी पर्यटकलाई नेपालका धेरैजसो नदीमा जलयात्राका लागि लगेको अनुभव पुनसँग छ । धेरैजसो नदीमध्ये उनीसँग गएका उल्लेख्य संख्यामा पर्यटकले कालीगण्डकीलाई रोजेका थिए । त्यस क्रममा विदेशीले कालीगण्डकीमा परिवारसहित जलयात्रा गर्न उपयुक्त भएको प्रतिक्रिया दिने गरेका थिए । जलयात्रामा आउने पर्यटकले कालीगण्डकीलाई ‘फेमिली रिभर’ पनि भन्छन् ।

पुनले नवीन थापा र विकास सिग्देललाई साथमा लिएर कुश्मा १ पाङको नयाँपुलको कालीगण्डकी किनारमा करिब १२ रोपनी जग्गा भाडामा लिएर र्‍याफ्टिङ क्याम्प सञ्चालन गरेका हुन् । स्थानीय सामुदायिक वनसँग १० वर्षका लागि जग्गा भाडामा लिएका युवाले अहिले नदी किनारमा करिब एक करोड रुपैयाँ लगानी गरिसकेका छन् । ‘विदेशीलाई आकर्षण गर्ने र स्वदेशीलाई प्रोत्साहन गर्ने उद्देश्य हो,’ होम पुनले भने, ‘साहसिक यात्रा हामीले जति सिक्यो, उती विदेशी आउँछन् ।’ स्थानीय युवालाई र्‍याफ्टिङ सिकाउन सके विदेशीलाई यहाँ आकर्षित गर्न सकिने उनको अनुभव छ ।

तीनैजना युवाहरूसँग र्‍याफ्टिङका क्षेत्रमा कामको अनुभव छ । थापा र सिग्देल दुवैले लेकसाइडका विभिन्न र्‍याफ्टिङ कम्पनीमा काम गरेपछि यहाँ लगानी गरेका हुन् । उनीहरूसँग हाल चारवटा ठूला र आठवटा साना र्‍याफ्टिङ बोट छन् । नयाँपुलमा भाडामा लिएको जग्गामा गेस्ट हाउस र रेस्टुरेन्टसमेत चलाएका छन् । ‘हामी धेरै टिम लिएर जलयात्रामा आउँदा खानपानको समस्या भोगेका थियौं,’ थापाले भने, ‘त्यही समस्या टार्न गेस्ट हाउस र रेस्टुरेन्ट चलाएका हौं । अब आउनेलाई बस्न, खान समस्या हुँदैन ।’ उनीहरूले कालीगण्डकीको बगरमै टेन्टमा सुत्ने व्यवस्था समेत मिलाएका छन् । त्यसका लागि २० वटा टेन्ट छन् ।

धौलागिरि बिच क्याम्प र्‍याफ्टिङ एन्ड रेस्टुरेन्टमा अब ग्राहकको सिजन सुरु भएको छ । वर्षा सकिएर कालीगण्डकीको सतह स्थिर भएका बेला असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म जलयात्रा बुकिङ हुने गरेको छ । अहिले एक दिनको जलयात्राका लागि नेपालीलाई प्रतिव्यक्ति दुई हजार र विदेशीलाई ३५ सय लिने गरिएको पुनले बताए ।

‘आफ्नै गाउँठाउँको चर्चा गरेर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने मुख्य लक्ष्य हो,’ उनले भने, ‘हामीले नै महत्त्व नबुझे विदेशीलाई बुझाउन सकिन्न ।’ पर्यटकीय राजधानी पोखराको नजिकमा भएकाले विदेशीलाई समेत आकर्षित गर्न सकिने उनले बताए । अहिले दैनिकजसो १० समूहले समेत जलयात्रा बुकिङ गर्ने गरेका छन् ।

‘अब सिजन सुरु भएको छ,’ सिग्देलले भने, ‘आन्तरिक पर्यटकले पनि साहसिक जलयात्रा गर्ने बानी बढ्दै गएकोमा खुसी छौं ।’ युवाले कुश्मा नगरपालिकामा यो वर्ष कालीगण्डकीको जलयात्रा गराउन अनुमति लिएका छन् । कान्तिपुरमा समाचार