ताजा समाचार:
Search

घारखोला जलविद्युतमा समझदारी

म्याग्दी — IMG_20180218_104014 स्थानीयवासीसँगको असमझदारी साम्य भएपछि निर्माणाधिन १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको बाँध र सुरुङ निर्माण अवरोध हटेको छ ।

सामाजिक सहयोग कार्यक्रमअन्तर्गत आयोजनाले प्रभावित क्षेत्र अन्नपूर्ण गाउँपालिका ५ र ६ मा कुल लागतको शुन्य दशमलव ७५ प्रतिशतले हुने १ करोड ८० लाख रुपैयाँ गाउँपालिकाको रोहवरमा खर्च गर्ने सहमति भएपछि अवरोध हटेको हो । आयोजनाका प्रतिनिधि, गाउँपालिका प्रमुख, दुवै वडाका वडाध्यक्ष र सरोकार समुहको सोमबार भएको संयुक्त बैठकबाट दुवै वडाध्यक्षले योजना छनौट गरेपछि आयोजनाले रकम भुक्तानी दिने सहमति गरेको हो । आयोजनाको कुल लागत २ अर्ब ४१ करोड ५८ लाख २५ हजार छ ।

‘आयोजना र प्रभावित क्षेत्रका स्थानीयवासीसँग सहमति जुटेको छ । सामाजिक सहयोगअन्तर्गत आयोजनाले खर्च गर्ने रकम गाउँपालिकाका दुवै वडाध्यक्षहरुले योजना ल्याउने र आयोजनाले गाउँपालिकाको रोहवरमा खर्च गर्ने सहमति भएको हो,’ आयोजना प्रमुख विनोद देवकोटाले भने, ‘अब आयोजना क्षेत्रमा कुनै विवाद छैन । काम तीब्र गतिमा सुरु हुन्छ ।’

घारको कुरिला खर्कमा आयोजनाले २ सय ५० मिटर सुरूङ निर्माण पुरा गरेको छ । कुरिलाखर्कमा बाँध बनाई तीन किमी लामो सुरूङबाट १२ सय मिटर पेनस्टक पाइपबाट पानी ल्याएर बेनी–जोमसोम सडकको रातोपानी खण्डको पोखरेबगरमा विद्युतगृह बनाउने योजना छ । २०७६ मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनाको लगानीकर्ता नागरिक उर्जा बुटवल लिमिटेड हो । kantipur