भगवतीमा माछापुच्छ्रेको शाखा रहित बैङ्कीङ सेवा सुरु

विकल्प न्यूज/बेनी
असोज ५ गते । IMG_0463 माछापुच्छ्रे बैङ्कले म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको अधेरीखोलामा शुक्रबार ग्राहक सेवा केन्द्र स्थापना गरेर शाखारहित बैङ्कीङ सेवा सुरु गरेको छ ।
भगवती, बेगखोला र पिप्लेका बासिन्दालाई गाउँमै बैङ्कीङ सेवा उपलब्ध गराउने उद्देश्यले २९ औ सेवा केन्द्र स्थापना गरिएको बैंकको बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले बताउनुभयो । सेवा केन्द्रबाट निक्षेप संकलन, खाताको रकम भुक्तानी, रेमिट्यन्स र कर्जाका लागि सिफारिस सम्बन्धि सेवा दिइने बैंकले जनाएको छ ।

अत्याधुनिक प्रबिधी जडित ट्याव उपकरणको सहायताले बैंकीङ्क सेवा दिन बैंकले स्थानीय ब्यवसायी दिपक खत्रीलाई प्रतिनिधी चयन गरेको छ । दैनिक दुई लाख रुपैया सम्म बचत र एक लाख रुपैया भुक्तानी गर्न सकिने प्रतिनिधी खत्रीले बताउनुभयो ।

सेवा केन्द्रबाट बैदेशिक रोजगारीमा गएकाको आफन्त, शिक्षक, कर्मचारी र ब्यवसायीहरु लाभान्वित भएका छन् । रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजाले सेवा केन्द्रको उद्घाटन गर्दै ग्रामिण क्षेत्रमा बैङ्कीङ सेवाको पहुँच विस्तारसंगै बचत गर्ने बानीको विकास गराउनुपर्नेमा जोड दिनुभयो ।

वडा अध्यक्ष रिमबहादुर कटुवालले सेवा केन्द्र स्थापना भएपछि बैंकीङ सेवाका लागि एक दिनको समय र तिन हजार रुपैया भन्दा बढी खर्च गरेर सदरमुकाम पुग्नुपर्ने स्थानीयबासीको समस्या हट्ने विश्वास व्यक्त गर्नुभयो ।

बैंकका शाखा रहित बैङ्कीङ सेवाका प्रमुख विकास श्रेष्ठले दुर्गम ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर ग्राहक सेवा केन्द्र सञ्चालन गरिएको बताउनुभयो । सेवा केन्द्र उद्घाटनका अवसरमा बैंकले स्थानीय सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई एक वर्षका लागि पुग्ने पोशाक, झोला र शैक्षिक सामाग्री वितरण गरेको थियो ।
बैंकका कर्मचारी रामबाबु बरालको सञ्चालन र अर्का कर्मचारी युवराज पन्थीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयका प्रअ तोरणबहादुर श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

आठ अरब रुपैया चुक्ता पुजी रहेको बैंकले गत आर्थिक वर्षमा ७५ अरब रुपैया निक्षेप संकलन र ६५ अर्ब रुपैया कर्जा लगानी गरेको थियो । यसअघि मुस्ताङको लोमान्थाङ सहित २८ स्थानमा ग्राहक सेवा केन्द्र स्थापना गरेर शाखा रहित बैङ्कीङ सेवा प्रवाह गरिरहेको छ । बेनी सहित देशका ८६ वटा शाखा, दुई वटा एक्टेन्सन काउन्टर र ९९ वटा एटीएम काउन्टर रहेका छन् ।