रितुङ पुस्तकालय अक्षयकोषलाई शेर्पाको ५१ हजार सहयोग

गोपाल छन्त्याल/बेनी
भदौ २३ गते । angम्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

दुर्गम क्षेत्रमा सञ्चालित विद्यालय र पुस्तकालय मार्फत गरिब तथा निमुखा विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उदयपुर घर भइ हाल अमेरिकामा कार्यरत आङजम्बु शेर्पाले ५१ हजार सहयोग गरेका हुन् ।

रोजगारका सिलसिलामा अमेरिकाको हल बोस्र्टन बस्दै आएका शेर्पाले अभियानलाई थप सशक्त बनाउन आफ्नो तर्फबाट सहयोग गरिएको बताए ।

‘मलाई दुृर्गम क्षेत्र, त्यसमाथि शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्न मन लाग्छ । कमाइको केहि हिस्सा पुस्तकालयको अक्षयकोषमा योगदान गर्न पाउँदा धेरै खुशी लागेको छ’, शेर्पाले भने । शेर्पाका परिवार हाल काठमाडौँमा बस्दै आएका छन् । उनी नेपाल आएका बेला दुर्गम क्षेत्रमा घुम्न र डुल्न मन पराउंछन् ।

शेर्पाले आफ्नो जन्मगाउँ त्रियुगा नगरपालिका वडां ७ को वडा कार्यालय भवन निर्माणका लागि हालै एक कत्था जग्गा निशुल्क उपलब्ध गराएका छन् । त्यहाँ अहिले भवन निर्माण प्रक्रिया अघि बढेको छ ।

त्यस्तै, गाउँको विद्यालय, मठमन्दिर र विभिन्न भवनहरु निर्माणका लागि ५० लाख रुपैयाँ भन्दा बढी सहयोग गरिसकेका छन् । ‘अयक्षयकोष बनाउने अवधारणा धेरै राम्रो हो, यो दीर्घकालीन हुन्छ’, उनले भने, ‘मैले मेरो साथीभाईहरुलाई पनि यसबारे जानकारी गराउनेछु ।’

जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको यात्रापछि पुगिने कुईनेमँगलेस्थित दुलेखर्कमा मावि तहको विद्यालय सञ्चालन भएपछि त्यसक्षेत्रका ३ सय भन्दा बढी विद्यार्थी घण्टौ लगाएर चिमखोला आउनुपर्ने बाध्यता हटेको छ । गत जेठ महिनामा प्रवासी नेपाली र साविक जिल्ला शिक्षा कार्यालयको संयुक्त ७ लाख रुपैयाँको लागतमा पुस्तकालय समेत सञ्चालनमा आएको छ ।

पुस्तकालयको व्यवस्थित तरिकाले सञ्चालन गर्न स्थायी स्रोतको रुपमा अक्षयकोष बनाउने योजना अनुरुप अभियान सञ्चालन गरिएको पुस्तकालय व्यवस्थापन उपसमितिका संयोजक गोपाल छन्त्यालले जानकारी दिए ।

‘शेर्पा दाईको सहयोगले हामीलाई थप उत्साह मिलेको छ’, उनले भने, ‘हामीले २ लाख रुपैयाँ जुटाउने भनेर अभियान सुरु गरेपनि अहिले कोषमा तीन लाख २५ हजार भन्दा बढी संकलन भइसकेको छ ।’

अक्षयकोष मार्फत प्राप्त व्याजले नयाँ पुस्तक खरिद र कर्मचारी व्यवस्थापन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । पुस्तकालयको दीर्घकालीन सञ्चालनका लागि विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रति दिन एक रुपैयाँ अभियान पनि सञ्चालन गर्दै आएका छन् ।