तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावरको ईआईए रिपोर्ट अपारदर्शी

विकल्प न्यूज/बेनी
भदौ २२ गते । kaligandakiतिप्ल्याङ–कालिगण्डकी हाइड्रोपावरले निर्माण गर्न लागेको ५८ मेगावाट क्षमताको जलविद्युत आयोजनाले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्रति स्थानीयले आंशका गरेका छन् । स्थानीयले उक्त प्रतिवेदन सवैले बुझ्ने र पारदर्शी हुनुपर्ने माग गरेका छन् ।

तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावरले अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगरमा बाँध बनाई रघुगंंगा गाउँपालिका १ तिप्ल्याङ नजिक विद्युत् गृह बनाई ५८ मेगावाट क्षमताको जलविद्युत् निर्माण गर्न अनुमति लिएको छ ।

तिप्ल्याङ कालीगण्डकी हाइड्रो प्रालि काठमाडौंले बिहीबार प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । स्थानीयले आयोजनाबाट इन्टेकमा पर्ने अन्नपूर्ण गाउँपालिका ६ रातोपानीस्थित तातोपानी मुहान मासिने भन्दै री–एलाइन्मेन्ट गर्न सुझाएका छन् ।

‘आयोजनाले सार्वजनिक गरेको ईआईए रिपोर्ट पारदर्शी र सबैले बुझ्ने प्रकारको छैन । प्रस्तावित एलाइन्मेन्टले तातोपानी नाश हुने पक्का छ,’ सार्वजनिक सुनुवाइका सहभागी स्थानीय खड्ग गिरीले भने, ‘आयोजनाबाट तातोपानीको मुहानमा असर नगर्ने प्रष्ट तर्क आएको छैन । हामी आयोजनाविरोधी होइनौं तर जनताले सजिलोसँग बुझ्ने गरी कुरा आउनुप¥यो ।’

प्रस्तावित तिप्ल्याङ कालीगण्डकीभन्दा २ किमि तल ट्रेडलिंक ग्लोबल प्रालिले ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर र माथि हाइड्रो सपोर्ट प्रालिले ५३ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएका छन ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने कालीगण्डकीको सानो सहायक घलेम्दी खोलामा अर्को ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले भदौ पहिलो साता विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरेको छ । घलेम्दी खोलामा ५ मेगावाट क्षमताको छुट्टै निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाले असोजमा विद्युत् उत्पादन थाल्दैछ ।

सोही ठाउँमा ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, ९१ मेगावाटको नीलगिरि क्यास्केट जलविद्युत् आयोजना निर्माणाधीन छन । अन्नपूर्ण गाउँपालिका ३ र ४ मा १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज निर्माण गर्न हालै प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा सम्झौता नै भइसकेको छ । घनश्याम खड्का