विकल्प न्यूज/बेनी
भदौ १९ गते । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक जीर्ण बनेको छ । बाढी र पहिरोका कारण ७६ किलोमिटर लामो सो सडकको बेनीदेखि घाँसा खण्ड छियाछिया भएको छ । सडक जीर्ण बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको अन्नपूर्ण गाउँपालिका–६ घारका ठाकुरप्रसाद बरुवालले बताउनुभयो । पच्चीस किलोमिटरको यात्रा गर्न डेढ घण्टा बढी समय लाग्ने गरेको उहाँको भनाइ छ । पाँच घण्टामा पुगिने जोमसोम पुग्न ३३ घण्टा लागेको जोमसोममा कार्यरत कर्मचारी नवराज सुवेदीले बताउनुभयो । मुस्ताङ भ्रमणमा आउने गरेका पर्यटकको बिचल्ली भएको छ । यात्रुले गाडी धकेलेर हिलोबाट निकाल्नु परिरहेको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी सडक विस्तारमा भन्दा पनि सवारीसाधन सञ्चालनमा केन्द्रित छन् । ठेकेदार कम्पनीले बर्खा लागेपछि खन्न थालेका कारण सडक हिलाम्मे भएको हो । गलेश्वरदेखि नारच्याङ पुलसम्मको ठेक्का लिएको शर्मा युनाइटेड जेभीले हालसम्म १५ प्रतिशत मात्र काम गरेको छ । सो आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले सडक विस्तारको काम नियमित रूपमा भइरहेको बताउनुभयो । साभारःगोरखापत्र अनलाइन