म्याग्दी उद्योग वाणिज्य संघद्धारा ३० लाखको व्यवसायिक हितकोष स्थापना

विकल्प न्यूज /बेनी
म्याग्दी ९ साउन ।  myagdi cci logo

 म्याग्दी उद्योग वाणिज्य संघले अप्ठ्यारो, आपत, विपद्मा परेका व्यवसायीलाई सघाउने उद्देश्यले हितकोष स्थापना गरेको छ ।

संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा मंगलबार बेनी स्थित कार्यालयमा बसेको बैठकले हितकोष स्थापना तथा सञ्चालन सम्बन्धि कार्यबिधी पारीत गरेको हो । तिस लाख रुपैयाँको कोष स्थापना गर्ने लक्ष्य रहेको संघका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।
कोषको ब्याजबाट उद्योग व्यवसायमा प्राकृतिक विपद्बाट क्षति पुग्दा, व्यवसायी र परिवारका सदस्यको देहावसन हुँदा सहयोग गर्ने ब्यवस्था मिलाइने भएको छ । प्राकृतिक विपद्बाट प्रभावित व्यवसायीलाई क्षतिको अवस्था अनुसार पचास हजारसम्म राहत उपलब्ध गराउने निर्णय भएको छ ।
व्यवसायीको मृत्यु भएमा ७५ हजार र परिवारका सदस्यको मृत्यु भएको अवस्थामा पच्चिस हजार रुपैयाँ सहयोग गरिने भएको छ । महासचिव गौतमका अनुसार कोषमा आर्थिक स्रोत जुटाउनका लागि प्रति सदस्य एक पटकमा दुई हजार रुपैयाँका दरले मात्र शूल्क संकलन गरिने भएको छ ।
आपत विपद्मा परेका व्यवसायीहरुलाई व्यवसायलाई निरन्तरता दिन सहयोग, संघ प्रति साहनुभुती र अपनत्व स्थापीत गराउने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।
आगामी भदौ १६ गते पच्चिसौ साधारणसभा गर्ने मिती तय गरेको संघले साउन महिनाभित्र बेनीमा आन्तरिक राजस्व कार्यालय पोखराको घुम्ती टोली बोलाएर बेनीमा कर तिर्ने ब्यवस्था मिलाउने निर्णय भएको छ ।

सोही अवसरमा करिब एक हजार जना ब्यवसायीलाई हितकोषमा आवद्ध बनाउने संघको योजना छ । संघमा एक हजार ६८० जना उद्योग, व्यवसायी आवद्ध छन् । हितकोषको सुबिधा लिनका लागि शूल्क तिरेर सदस्य बन्नुपर्नेछ ।