जलजलाका पहिरो पीडित ः न बास, न जमिनको आस

अगन्धर तिवारी /जलजला
पर्वत,साउन ८ गते । lasti paheroपर्वतको जलजला ८ मा पहिरोले घर पुरिएपछि विद्यालय परिसरमा आश्रय लिएका स्थानीय बासिन्दा । तस्बिर : अगन्धर तिवारी

जलजला ८ का बमबहादुर परियार सुकुम्बासी हुन् । मजदुरी गर्दै आएका परियार लस्तीबजारमाथिको बरेनेटामा बनाएको टहरोमा बस्दै आएका थिए । उनले दु:खजिलो गरी बनाएको घर गत मंगलबारको पहिरोमा बग्यो । उनले बुढेसकालको सहारा छोरालाई समेत गुमाउनुपर्‍यो ।

आसपासको करिब २० रोपनी भिरालो जमिनमा बमबहादुरसहित २४ परिवारको बसोबास थियो । गत साताको पहिरोले १३ घर बढार्‍यो । बचेका केही घर पनि पहिरोले घेरेपछि असुरक्षित भएका छन् । ‘चौबीस घर एउटै परिवार जसरी बसेका थियौं,’ परियारले भने, ‘आज मसँग बुढेसकालको सहारासमेत गुम्यो । न घर फर्किने आधार छ, न जमिनको आश ।’ छोराको आशमा उनले तीन श्रीमती भित्र्याएका थिए । जेठा छोरा पहिल्यै अलग्गिएका छन् । ‘कान्छाले सानैदेखि पीरमर्का बुझ्थ्यो । मलाई रोगले च्यापेपछि दुई वर्षदेखि उसकै सहारामा थिएँ,’ उनले भने, ‘अब न छानो रह्यो न सहारा ।’

पहिरोले बरेनेटाका गम्बे दर्जी, मनकुमारी परियार, टेकबहादुर परियार, लक्ष्मी दर्जी, ज्ञानु परियार, डिलु परियार, सन्ते परियार, गणेश परियार, शीतल परियार र राने परियारका घरको नामनिसान छैन । ‘अरू ११ घरमा पनि बस्न सक्ने अवस्था छैन,’ टेकबहादुरले भने, ‘अहिलेसम्म स्कुलको कोठामा बसेका छौं । १५ गतेबाट पढाइ सुरु हुन्छ । त्यसपछि कता जाने टुंगो छैन ।’ राहतमा पाइएको चामल पनि सुविस्ताले पकाएर खाने ठाउँ नभएको उनले गुनासो गरे । । पहिरोपीडितले आआफ्ना घरका अन्नपात, लुगाफाटा र भाँडाकुँडा केही निकाल्न पाएनन् । अहिले उनीहरूलाई खानलाउन सास्ती छ ।

धाइरिङबाट यहाँ बसाइँ सरेका ८० वर्षीय झरसिंह दर्जीका अनुसार बरेनेटाको जमिन भिरालो पाखो भए पनि सुरक्षित मानिएको थियो । ‘अन्त धेरै ठाउँमा पहिरो जाँदा पनि यहाँ आनन्द थियो,’ उनले भने, ‘धाइरिङमा पहिराकै डरले यहाँ आएको थिएँ । अहिले नसोचेको भयो ।’ उनका चार भाइ छोरा, नाति र दुई छोरीको गरी सात घर पहिरोले पुरेको छ । सात घर पहिरोमा परेपछि बुढेसकालमा कल्पनासम्म नगरेको पीडा थपिएको उनले बताए । पहिरोले स्थानीय दीपेश केसीले सञ्चालन गरेको ढिकीजाँतो हस्तकला उद्योगका सबै संरचनामा क्षति पुर्‍याएको छ । दुइ वर्ष देखिको निरन्तरको लगानी नोक्सान भएको उनले बताए ।

पहिरो गएको सातादिन पुग्न लाग्दासमेत उचित राहत र बसोबासको व्यवस्थापन कतैबाट नभएको पीडितहरूको गुनासो छ । ‘गाडी चढेर नेता र हाकिमहरू धेरै पल्ट आउनुभो,’ स्थानीय लक्ष्मी दर्जीले भनिन्, ‘हामीलाई धैर्य हुने आधारै छैन । एक थान त्रिपाल र एक बोरा चामलले हाम्रो पीरमर्का कम हुने होइन ।’

बरनेटामा अब फर्किन सम्भव नभएको पीडितहरू बताउँछन् । ‘त्यहाँ फर्किनसक्ने अवस्था कसैको पनि छैन,’ स्थानीय सन्ते परियारले भने, ‘अन्त जान गोजीमा कौडी छैन ।’ पहिरो गएपछि गाउँ पुगेका सांसद र सरकारी अधिकारीले आश्वासन मात्रै दिएर पर्किएको उनको गुनासो छ । लस्तीखोलामा आएको बाढीले लस्तीबजारसमेत जोखिममा छ । खोलाको कटान रोकिएको छैन । पहिरोलगत्तै गाउँ पुगेको जिल्ला प्रकोप व्यवस्थापन समितिको टोलीले त्यहाँको सबै बस्ती अन्यत्र व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको छ । समितिले जलजला गाउँपालिका र भूसंरक्षणलगायतलाई प्राविधिक प्रतिवेदन पेस गर्नसमेत सुझाएको छ । कान्तिपुर दैनिकमा खबर छ