म्याग्दीका तिनजना युवा पुरस्कृत

साधन राम्जाली /विकल्प
बेनी २५ असार ।IMG_9212 जिल्ला युवा समिति म्याग्दीले विभिन्न बिधामा सोमबार तिन जना युवाहरुलाई पुरस्कृत गरेको छ ।

युवा प्रतिभा र उद्यमीको खोजी गरी उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सांगितीक, खेलकुद र कृषी बिधामा उत्कृष्ट युवा छनौट गरेर पुरस्कृत गरिएको समितिले जनाएको छ ।

पुरस्कृत हुनेमा मंगला गाउँपालीका १ कुहुँका संगितकार दिपक शर्मा, मालीका गाउँपालीका ३ डाँडागाउका बंगुरपालक कृषक टकबहादुर बुढा र भलिबल खेलाडी तथा समाजसेवी तेजेन्द्र बानिया रहनुभएको छ ।

प्रदेशसभा सदस्य बिनोद केसीले शर्मा, बुढा र बानियालाई नगद सात हजार, प्रमाणपत्र प्रदानका साथै दोसल्ला ओढाएर पुरस्कृत गर्नुभएको थियो ।

एक दशकदेखि संगितकारको रुपमा काम गर्दै आउनुभएका शर्माले हजारौ गितमा संगित भर्नुभएको छ । बिदेशबाट फर्कीएपछि बंगुरपालन ब्यवसाय गरेका बुढाले मासिक पचास हजार आम्दानी हुने गरेको बताउनुभयो । काउलेगौडा युवा क्लव संस्थापक बानियाले भलिबल खेल मार्फत म्याग्दीलाई चिनाउन योगदान गर्नुभएको छ ।

कार्यक्रममा सांसद केसीले युवाहरुलाई उद्यमशिलतातर्फ आकर्षित बनाउन राज्यले जोड दिएको बताउनुभयो ।

जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्माको अध्यक्षता र कम्प्युटर अपरेटर अमृत बास्कुनेको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा समितिद्धारा सञ्चालीत तिन महिने सिलाई बुनाई तालीममा सहभागी दश जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।