अन्नपूर्णका किसानलाई औजार र विरुवा हस्तान्तरण

गोपाल छन्त्याल/बेनी
असार २४ गते । aujanr
अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानहरुलाई कृषि औजार र विरुवा हस्तान्तरण गरेको छ ।  आइतबार आयोजिक एक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्त रुपमा किसानहरुलाई उक्त औजार हस्तान्तरण गरेका हुन् ।
कृषि शाखा प्रमुख गोपाल भट्टराईले जिल्लामा मै पहिलो पटक ६ थान कोदो चुट्ने मेसिन, १ सय ४५ थान प्लाष्टिक केट, १२ थान मकै छोड्याउने औजार, २३ वटा सुन्तला टिप्ने भ¥याङ, ९ वटा स्प्रे टँकी वितरण गरिएको जानकारी दिए । त्यस्तै, ४८ थान सिबेचर, ४८ थान आरी, ४ हजार सुन्तलाका विरुवा र १ हजार कागतीको विरुवा वितरण गरिएको कृषि प्रमुख भट्टराईले जानकारी दिए ।

‘वडा कार्यालयको सिफारिशमा प्राथामिकताको आधारमा औजार र विरुवा वितरण गरेका हौँ’, उनले भने । औजार र विरुवाले व्यवसायिक किसानहरुलाई थप सघाउ पुग्ने उपाध्यक्ष मगरले बताइन् । ‘सुन्तला उत्पादनका लागि यो क्षेत्रमा चर्चित छ ।
आलुको पनि उत्तिकै संभावना छ’, उनले भनिन्, ‘त्यसको समुचित विकासका लागि गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छ ।’ गाउँपालिकाले आगामी आर्थिक बर्षमा आलुमा आत्मनिर्भरका लागि राम्चे, हिस्तान र शिखलाई आलु पकेट क्षेत्र र भूरुङ तातोपानी, दाना र नारच्याङलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम अघि बढाउने योजना अघि सारेको छ ।