कुईनेमँगले, चिमखोला र दग्नाममा योजनाको अनुगमन

विकल्प न्यूज/बेनी
असार २४ गते ।

????????????????????????????????????

रघुगंगा गाउँपालिकाले तीन वडा चिमखोला, कुईनेमँगले र दग्नाममा सञ्चालित योजनाका अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी, उपप्रमुख कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई, सब–इञ्जिनियर कमल चोखाल, विषयगत शाखाका प्रमुखहरुको टोलीले तीन वडामा सञ्चालित विकास निर्माण, उपलब्ध गराएका विषयगत शाखाका अनुदान लगायतका योजनाबारे अनुगमन गरिएको हो ।

टोलीले गाउँपालिकाले चालु आर्थिक बर्षमा उच्च प्राथामिकताका साथ बजेट विनीयोजित गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम अजिँगभीर सडक आयोजना, गाउँपालिकाको सबैभन्दा दुर्गम क्षेत्र मानिने कुईनेमँगलेको छहरेखोला लघुजलविद्युत आयोजनाका लागि वडा तथा गाउँपालिकाबाट विनीयोजित बजेटका सदुपयोग, रितुङ माविमा गरिएको घेराबार, सार्वजनिक शौचालय चिमखोलाको खानेपानी, सडक, दरमिजा तातोपानी कुण्डको पदमार्ग लगायतको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा प्रमुख भण्डारीले दबाङ भीरमा रोकिएको सडक एकबर्षमा अजिङभीर पुग्न सफल भएको र त्यसको स्तरोन्नति सन्तोषजनक भएको बताए । उनले अजिङभीरमा कठिन चुनौतीका बीच विस्फोटक पदार्थ प्रयोग मार्फत तयार भएको सडकको ‘ट्रयाक’ प्रशंसायोग्य भएको बताए ।

‘अबको साढे दुईबर्षभित्र अजिँगभीर फोड्ने छौँ’, उनले भने, ‘घ्यासीखर्क हुदै दुवाडीसम्म जसरी पनि गाडी गुड्ने बनाउनेछौँ ।’ अनुगनमा क्रममा टोलीले उपभोक्ता समितिसँग समयमै सम्झौता, भुक्तानी र समयमै कार्य सम्पन्न गर्नुपर्नेबारे सचेत गराएका थिए । रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरु ९५ प्रतिशत सम्पन्न भइसकेको जनाएको छ ।