घलेम्दीको आईपीओ खुल्यो

सन्तोष गौतम/ विकल्प न्यूज
म्याग्दी २३ असार । Ghalamdi 1म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले आईपीओ (साधारण सेयर) खुल्ला गरेको छ । प्रवद्र्धक घलेम्दी हाईड्रो लिमिटेडले आयोजना प्रभावीत अन्नपूर्ण गाउँपालिकाका सर्वसाधारणका लागि पाँच लाख पचास हजार कित्ता साधारण सेयर खुल्ला गरेको हो ।

शुक्रबारदेखि साउन ४ गतेसम्म अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका बासिन्दाले सेयर लगानीका लागि आवेदन दिन सक्ने कम्पनीका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए ।

भिबोर क्यापीटल बिक्री प्रबन्धक चयन भएको आयोजनामा सेयर लगानीका लागि गरिमा विकास बैङ्कको पोखरेबगर, बेनी, तथा प्रभु, माछापुच्छ्रे र ग्लोबल आईएमई बैङ्कको बेनी स्थित शाखा मार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

यसै गरि पोखरामा वसोवास गर्नुहुने अन्नपूर्णगाउँपालिकावासीहरुलाई पोखराको  महेन्द्र पुलमा रहेको गरिमा विकास बैंकको शाखाबाट  समेत आवेदन दिन मिल्ने व्यवस्था मिलाइएको कम्पनी सचिव लक्ष्मीनिधी रिजाल(विमल)ले जानकारी दिनुभयो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पाँच करोड पचास लाख रुपैयाँ बराबरको सेयर लगानीको अवसर पाएका छन् । एक जनाले पाँचहजार  देखि दुई लाख ७५ हजार रुपैयाँ सम्मको सेयर आवेदन दिन सक्नेछन् । galemdhi 3आगामी असोज महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको बाँध र सुरुङ निर्माणको काम सकिएको कम्पनीका सचिव बिमल रिजालले बताउ । विद्युतगृह निर्माण कार्य असी प्रतिशत सकिएको छ । विद्युतगृहमा जडान गर्ने उपकरण खरिद गरेर आयोजना स्थलमा ढुवानी भैसकेको छ ।

हेड देखि पावर हाउससम्म पेनस्टक पाईप जडानको काम भैरहेको छ । अन्नपूर्ण हिमालको फेदीमा निर्माण भएको बाँधबाट १ हजार ७०० मिटर लामो सुरुङमार्ग हुँदै ल्याईने पानीलाई निलगिरि खोलाको किनारमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्यूत उत्पादन गरीने आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताए ।

जिल्लाकै उद्योगी व्यवसायीहरुको नेतृत्वमा २०७१ सालबाट निर्माण सुरु भएको यस आयोजनाको हालसम्म ९२ प्रतिशत काम सकिएको छ । ८५ करोड रुपैयाँ कुल लागत अनुमान गरिएको घलेम्दीमा संस्थापकहरुको ३८ करोड ५० लाख संस्थापक शेयर लगानी छ । बाँकी झण्डै ४५ करोड रुपैयाँ भिबोर सोसाइटी विकास बैँक, सिद्धार्थ विकास बँैक, सिदार्थ रिटायरमेण्ट फण्ड र टुरीजम डेभलपमेण्ड बैँकले लगानी गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले दानामा निर्माण गर्न लागेको सब स्टेशनको पूर्वाधार तयार नहुँदा सम्म यस आयोजनाबाट उत्पादीत विद्यूत नारच्याङकै घरापमा रहेको सब स्टेशन मार्फत केन्द्रिय प्रशारण लाईनमा जडान गरिनेछ ।