थामकोटमा भ्यु टावर निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ असार । Ruise Ma View Tower Nirman Suruरघुगंगा गाउँपालिका २ भगवतीको रुईसे स्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण सुरु भएको छ ।

रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासीन्दाले भ्यु टावर निर्माण सुरु गरेका हुन् । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भ्यु टावर निर्माण सुरु गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिनुभयो ।

गाउँपालिकाले बिनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट स्थानीयबासीले श्रमदान गरेर भ्यु टावर निर्माण सुरु गरिएको हो । २७ फिट अग्लो रहने भ्यु टावर तिन तलाको हुनेछ । यस वर्ष पहिलो तला सम्म मात्र बन्ने टावरमा आगामी दुई वटा तला थप गर्न बजेटको प्रस्ताव गरिएको छ ।

थामकोटको निर्माणाधिन भ्यु टावर नजिकै बनभोज स्थलका लागि एक वटा टहरा निर्माण भईसकेको छ । खानेपानीको व्यवस्था मिलाइएको छ । उक्त स्थानमा सामुदायीक लज सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बताउनुभयो ।

दुई हजार २०८ मिटर उचाईमा अवस्थित थामकोटबाट रघुगंगा गाउँपालिकाका ८ वटै वडा, बेनी नगरपालिका, अन्नपूर्ण, जलजला र बागलुङ नगरपालिकाको भुभाग, सुर्योदय, हिमशृङखलाको अवलोकन गर्न सकिन्छ ।

हाल बनभोज खानका लागि पर्वत, कास्की पुग्ने बेनीका बासिन्दालाई थामकोटमा पु¥याउने योजना रहेको छ । समथर खाली भुगोल बनभोज स्थलका लागि उपयुक्त भएको वडा अध्यक्ष कटुवालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा वडा कार्यालयको दुई लाख रुपैयाँ अनुदानमा स्थानीयबासीले सिजलगाउँको दुईतर्फबाट रुईसेसम्म जोड्ने करिब दुई किलोमिटर पदमार्ग निर्माण गरिसकेका छन् ।
ढुङ्गे सिढी बनाउने र झाडी फाँडेर सहज रुपमा आवत जावत गर्न सकिने बाटो बनाइएको स्थानीय युवा हरि भण्डारीले बताउनुभयो । निर्माण सामाग्री ढुवानी र पर्यटकको सहज आवत जावतका लागि सिजल गाउँदेखि थामकोट हुदै नौलीबराह जोड्ने सडकको ट्याक निर्माण भएको छ ।