ताजा समाचार:
Search

खाडीबाट फर्कीएका युवा दोवाको जंगलमा बाख्रा चराउँदै

सन्तोष गौतम/विकल्प न्यूज
दोवा,असार ४ गते ।Doba Youth Goatpalan

म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा विदेशबाट फर्कीएका युवाहरुले व्यवसायिक बाख्रापालन सुरु गरेका छन् । विदेशमा कडा परिश्रम गर्दा समेत अपेक्षाकृत आम्दानी हुन नसकेपछि फर्कीएका युवाहरुले जिविकोपार्जनका लागि बाख्रा पाल्न थालेका हुन् । दश वर्ष साउदीमा काम गरेर घर फर्कीएर गत वर्षदेखि बाख्रापालन सुरु गरेका दोवाका बिरेन्द्र गर्बुजा विदेशमा गर्ने परिश्रम गाउँमै गरेमा फाईदा हुने बताउनुहुन्छ ।

विदेशको कमाई दिगो नहुने बताउदै उहाँले घरपरिवारसंगै गाउँमै बसेर बाख्रा पाल्दा सुख र सन्तुष्टि मिलेको बताउनुभयो । एक वर्ष अघि पाँच लाख ६७ हजारमा ६३ वटा बाख्रा किनेर थप एक लाख लगानी गरी बाख्रा पाल्न सुरु गर्नुभएको थियो । एक वर्षको अवधिमा करिब बिस वटा बाख्रा, खसी, बोका र पाठापाठी बेचेका गर्बुजाको फार्ममा अहिले ७० बाख्रा छन् ।
स्वरोजगार बन्नुका साथै घरखर्च चलाउन र छोराछोरी पढाउन बाख्रा पालनबाट भएको आम्दानीले पुगेको गर्बुजाको भनाई छ । बाख्राको संख्या बढाउने र फार्म दर्ता गर्ने योजना रहेको गर्बुजाले बताउनुभयो ।

खाडी मुलकमा कामको खोजीमा एक दशक भन्दा बढी समय भौतारीएका दोवाका उमेश पुर्जा पनी अहिले बाख्रापालनमा लाग्नुभएको छ । ९० वटा बाख्रा पालेका गर्बुजा र उहाँकी श्रीमती स्वरोजगार बन्नुभएको छ । खसीबोका र बाख्रा, पाठा खरिद गर्न ग्राहक गाउँमै आउने भएकाले बजारको समस्या छैन् ।

दोवा गाउँमा बिस जना भन्दा बढीले व्यवसायिक बाख्रा पालन गरेका छन् । वैदेशिक रोजगारको विकल्पमा बाख्रापालन गतिलो माध्यम बनेको छ । वडा अध्यक्ष दिलपकुमार गर्बुजाले बाख्राको लागी आन्तरीक तथा बाह्य परजिवी विरुद्धको औषधि, खोप र तालीमको व्यवस्था गरेर युवाहरुलाई गाउँमै आयआर्जन गर्ने वातावरण मिलाउने बताउनुभयो ।