ताजा समाचार:
Search

जलजलाका कृषकलाई एक्काईस लाख अनुदान वितरण

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ असार ।dhairing 5 पर्वतको जलजला गाउपालिकाले कृषकहरुलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गराउन यस वर्ष २१ लाख रुपैयाँ भन्दा बढी अनुदान वितरण गरेको छ ।

गाउँपालिकाको पशु सेवा शाखाले व्यवसायिक गाईभैसी, बाख्रा र कुखुरापालनमा कृषकहरुलाई आकर्षीत गरी मासु, दुध र अण्डाको उत्पादन वृद्धी गरी आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान वितरण गरेको हो ।

विभिन्न कार्यक्रम अन्तरगत ५२ जना कृषकहरुलाई अनुदानका लागि छनौट गरी वितरण गरिएको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्माले बताउनुभयो । युवा लक्षित कार्यक्रम अन्तरगत जलजला ७ का सूर्यबहादुर क्षेत्री र २ मल्लाजका नविन कार्कीलाई बाख्रापालनका लागि एक/एक लाख रुपैया उपलब्ध गराइएको छ ।

बाख्राको खोर सुधारका लागि पच्चिस हजार रुपैयाँका दरले अनुदान पाउनेमा धाईरीङका मनबहादुर क्षेत्री, मल्लाजकी कोपीला जिसी, बाँसखर्कका रेशमबहादुर घले, नाग्लीवाङका हिमबहादुर थापा र शालीजाकी डिलकुमारी पुन रहनुभएको छ ।

युवा लक्षित भैसीपालनमा मिलनचोकका ज्ञानेश्वर आचार्य र धाईरीङका तिलकप्रसाद आचार्यले एक एक लाख, गोठ सुधारका लागि नाग्लीवाङका तोपबहादुर क्षेत्री, धाईरीङका रामप्रसाद उपाध्याय, मल्लाजकी शोभा उपाध्याय, गंगाधर आचार्य र गण्डकी गौशालाले २५ हजार रुपैयाँका दरले अनुदान पाएका छन् ।

अण्डा आत्मनिर्भर कार्यक्रम अन्तरगत मल्लजकी अम्बिका गुरुङ, लेकफाँटकी कोपीला जिसी, शालीजाका चन्द्रबहादुर चोचाङगी, शालीजाका डिलबहादुर पुर्जा र नाग्लीवाङका कर्णबहादुर क्षेत्रीले तिस हजारका दरले अनुदान पाएको शाखाका प्राबिधिक नारायण आचार्यले बताउनुभयो ।
वारीबेनीको थापा फ्रेस हाउसकी जुना थापा र बनौको आकाश फ्रेस हाउसका निलबहादुर गर्बुजाले मासु पसल सुधारका लागि बिस हजारका दरले अनुदान पाउनुभएको छ । शालीजाका लालबीर पुनलाई बंगुर खोर निर्माण गर्न बिस हजार रुपैया उपलब्ध गराइको छ ।
जलजला गाउँपालीका २ ओखरबोट र ४ फड्केढुंगामा दश÷दश जना कृषकलाई समेटेर बाख्रा प्याकेज कार्यक्रम सञ्चालन भएको छ । जस मार्फत खोर सुधारका लागि प्रतिकृषक दुई हजार पाँच सय, बाख्रा खरिद गर्न पाँच हजार र समूहमा एउटा प्रजनन् योग्य बोका खरिद गर्न पन्ध्र हजारका दरले उपलब्ध गराइएको छ ।

प्याकेज लागु भएको समूहका कृषकलाई निशूल्क भ्याक्सीन, भिटामीन, हिउँदे तथा बर्खे घाँसको विउ उपलब्ध गराइने भएको छ । गाई प्याकेज कार्यक्रम अन्तरगत मिलनचोक दुग्ध ब्यवसायी समितिका ५ जनालाई उन्नत जातको गाई खरिद गरी ढुवानीका लागि पाँच हजारका दरले सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

जनप्रतिनिधिहरुको रोहबरमा विभिन्न समिति गठन गरी अनुदानका लागि छनौट भएका कृषकहरुलाई रकम वितरणको काम अन्तिम चरणमा पुगेको शाखाका प्रमुख शर्माले बताउनुभयो ।