विकल्प न्यूज/बेनी
जेठ २९ गते ।
जिल्लाको उत्तरी अन्नपूर्ण गाउँपालिका ३ दानाका महिलाहरुले सामुदायिक भवन निर्माण गरेका छन् । दानाको सृजनशिल महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाले सभाहल सहितको महिला सामुदायिक भवन निर्माण गरेका हुन ।
चार वर्ष अघि तत्कालिन जिल्ला विकास समिति म्याग्दी र गाविसको सहयोगमा निर्माण भएको एकतल्ले भवनमा चालु आर्थिक वर्षमा गाउँपालिकाको सहयोगमा एकतला थप गरिएको भवन निर्माण समितिकी अध्यक्ष सवी पुर्जाले बताउनुभयो ।
गाउँपालिकाको पाँचलाख रुपैयाँ अनुदान र ६९ हजार चारसय ७८ रुपियाँ बरावरको श्रमदानबाट भवनको तल्ला थप गरिएको भवन निर्माण समितिकी अध्यक्ष पुर्जाले बताउनुभयो । भवनको तल्लो तलामा सहकारीको कार्यालय राखिएको छ भने माथिल्लो तल्लामा सभाहल निर्माण गरिएको छ ।
भवन निर्माण भएपछि भेला, तालीम, गोष्ठी, बैठक, सभा, समारोह लगायतका कार्यक्रम सञ्चालन गर्न सहज भएको छ । गाउँमा महिलाहरुको सक्रियतामा विकास निर्माण र सामाजिक गतिबिधिमा बढेको सक्रियताबाट आफू उत्साहीत भएको वडाअध्यक्ष नरसिहवहादुर पुर्जाले बताउनुभयो । दानाका महिलाहरु संगठित भइ गाउँमा सहकारी समेत सञ्चालन गरेका छन् । सहकारीबाट महिलाहरुको आयआर्जनमा वृद्धि भएको वताइएको छ ।