ताजा समाचार:
Search

रितुङ माविको पस्तकालयलाई एकैदिन ६०हजार जुट्यो

साधन राम्जाली/बेनी
जेठ २९ गते । ritung1म्याग्दीको रघुगंगा–८ दुलेखर्कमा सञ्चालित रितुङ्ग माविको पुस्तकालय व्यवस्थापनका लागि सञ्चालित अक्षयकोषमा एकैदिन ६० हजार रुपैयाँ सहयोगको घोषणा भएको छ । जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदल दुरीमा पर्ने रितुङ्ग माविमा जापान, अमेरिकामा रहेका स्थानीय र साविक जिल्ला शिक्षा कार्यालयको संयुक्त ७ लाख ४६ हजार रुपैयाँको लागतमा पुस्तकालय स्थापना भएको थियो ।

गत शुक्रबारदेखि सञ्चालनमा आएको पुस्तकालयको व्यवस्थापन गर्नका लागि सञ्चालित दुई लाख रुपैयाँको अक्षयकोषलाई आइतबार कुईनेमँगलेस्थित छरीखानीका कृष्ण बहादुर छन्त्याल र कुईनेमँगलेस्थित चौरखानीका चन्द्रमान छन्त्यालले २०÷२० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

सोही विद्यालयमा अध्ययन गर्नुका साथै एकबर्ष अध्यापन समेत गराएका कृष्ण हाल रोजगारको सिलसिलामा कोरिया छन् भने चन्द्रमान बेलायतमा छन् । चन्द्रमानले आफ्नो स्वर्गीय बुबा हरिप्रसादको स्मृतिमा उक्त रकम सहयोगको घोषणा गरेका हुन् । त्यस्तै, सोही विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका कुईनेमँगलेस्थित पोत्लेखर्कका पदम गर्बुजाले १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

गर्बुजा हाल अध्ययनको सिलसिलामा जापान छन् । अक्षयकोषमा आइतबार धौलागिरि गाउँपालिका–१ गुर्जाखानी घर भइ हाल रोजगारको सिलसिलामा कोरिया रहेका तुकप्रसाद छन्त्यालले आफ्नो ममतामयी आमा राजकुमारी छन्त्यालको नामबाट ५ हजार रुपैयाँ र कुईनेमँगलेस्थित चौरखानी घर भइ हाल कतारमा रहेका टेकबहादुर घर्तीले स्वर्गीय बाजे अत्तमबहादुर घर्तीको स्मृतिमा ५ हजार रुपैयाँ सहयोगको घोषणा गरेको पुस्तकालय व्यवस्थापन उपसमितिका संयोजक गोपाल छन्त्यालले जानकारी दिए ।

उनले चौतर्फी सहयोग प्राप्त भइरहेकाले छिट्टै लक्ष्यमा पुगिने बताए । ‘हामीले यो अभियानलाई भदौ १ गतेसम्म जारी राख्नेछौँ, त्यतिबेलासम्म जति रकम उठ्छ, कुनै बैंक तथा सहकारीमा मुद्दतीमा राखेर अक्षयकोष बनाउनेछौँ’, उनले भने, ‘त्यसको ब्याजबाट पुस्तकालयमा नियमित कर्मचारी, पुस्तकहरु थप र मर्मतसम्भार गर्नेछौँ ।’ अक्षयकोषका लागि शुक्रबार उद्घाटन सत्रमा विद्यालयका प्रअ खिमबहादुर छन्त्यालले स्वर्गीय आमा अणदेवी छन्त्यालको स्मृतिमा रु ७ हजार र पुस्तकालय संयोजक गोपाला छन्त्यालले स्वर्गीय पिताको स्मृतिमा ५ हजार र रिखार संरक्षण समितिले ५ हजार गरि ५५ हजार ३ सय ९० रुपैयाँ नगद संकलन भएको थियो भने ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले ५ हजार सहयोगको घोषणा गरेका थिए ।

स्थानीयको चन्दा सहयोगबाट सञ्चालित विद्यालयलाई पुस्तकालयको समेत आर्थिक भार पर्ने देखिएकाले अक्षयकोषको अवधारणा ल्याईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।