ताजा समाचार:
Search

दोवाको डाडाँटोलमा नाली निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
दोवा २९ जेठ ।
अन्नपूर्ण गाउँपालिका १ दोवाको डाँडाटोलमा नाली निर्माण भएको छ । गाउँपालिका र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा स्थानीयबासीले ढल ब्यवस्थापनका लागि नाली निर्माण गरेका हुन् ।

वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाको एक लाख र भुसंरक्षणको सत्तरी हजार रुपैयाँ अनुदानमा ९३ मिटर लामो नाली निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रुपबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार नाली निर्माण गर्न १५ घरधुरीले दुई दिनका दरले १८ हजार रुपैया बराबरको श्रमदान गरेका थिए ।
नाली निर्माण भएपछि ढल ब्यवस्थापन सहज भई सरसफाई कायम राख्न र बाढी पहिरो रोकथाममा सहयोग पुगेको छ । भिरालो पाखोमा गुजुमुज्ज परेको दोवाको अधिकांश बस्तीमा ढल निकासका लागि नाली निर्माण गर्नुपर्ने बताइएको छ ।