ताजा समाचार:
Search

समृद्ध गाउँपालिका निर्माणमा अघि बढ्दै अन्नपूर्ण

धु्रबसागर शर्मा /बेनी
जेठ २६ गते । anna purnaम्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनता,जनप्रतिनिधि र कर्मचारीहरुले समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाले शुक्रवार ठूलोबगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले कृषि,पशुपालन,शिक्षा,पर्यटन,यातायात लगाएतको सबै क्षेत्रमा गाउँपालिकालाई समृद्ध बनाउने र गाउँपालिकाको हरेक सकरात्मक अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।

अन्नपूर्ण गाउँपालिका वडा नं १ र २ का वासिन्दाले सरोकारवाला पक्षको सहभागितामा योजनाको तर्जुमा र बजेट विनीयोजनको परिपाटीको विकास गर्न वडाअध्यक्षलाई आग्रह गरेका थिए । कार्यक्रममा स्थानीयले उठाएका सवाल बारे गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहाल, उपाध्यक्ष केशमायाँ तिलिजा, गाउँपालिका मातहतका विषयगत समितिका संयोजक, कृषि शाखा संयोजक गोपाल भट्टराई, पशु सेवा शाखाका संयोजक सतेन्द्रकुमार राय, स्वास्थ्यसेवा संयोजक समुन्द्र बरुवाल र वडा नं १ र २ का वडाअध्यक्षले आ–आफ्नो क्षेत्रको जवाफ दिएका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष क्या. पुनले आगामी बजेटमा २लाख रुपैयाँ भन्दा न्यून लागतका योजनालाई स्वीकृत नगर्ने बताउनुभयो । ‘जहाँ पनि देखिने काम हुनुप¥यो, त्यसैले सबै वडाहरुलाई झिनामसिना योजना नबनाउन निर्देशन दिएको छु’, उँहाले भन्नुभयो, ‘शिक्षा क्षेत्र मेरो पहिलो प्राथामिकतामा हो, त्यसमा तपाँईहरुले साथ दिनुपर्छ ।’

चालु आर्थिक बर्षमा कक्षा १ देखि अनिवार्य अँग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको भन्दै अध्यक्ष पुनले टेलिटिचिङको अवधारणा अघि सारिएको बताउनुभयो । ‘उच्च गतिको इन्टरनेट मार्फत एक विद्यालयको पठनपाठन शैली अर्को विद्यालयले प्रत्यक्ष रुपमा हेर्ने प्रविधि नै टेलिटिचिङ हो’, उहाँले भन्नुभयोे, ‘यसका लागि हामीले १० लाख रुपैयाँ बजेट विनीयोजन गरिसकेका छौँ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सवैको सामुहिक प्रयासमा शान्ति सुरक्षा,विकास निर्माण र सुव्यवस्था कायम गर्न सकिने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले बजेट तुर्जमाको तयारीमा रहँदा सार्वजनिक सुनुवाई मार्फत योजना, सेवाप्रवाहको गुनासा संकलन सहित स्थानीयको अपेक्षा पनि बुझ्न सहज भएको बताउनुभयो । कार्यक्रम पत्रकार धु्रबसागर शर्मा र कमल खत्र्रीको सहजीकरणमा सम्पन्न भएको थियो ।