रितुङ माविमा पुस्तकालय उद्घाटन

विकल्प न्युज /बेनी

जेठ २५ गते ।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलेस्थित रितुङ माध्यमिक विद्यालयमा शुक्रबार पुस्तकालय उद्घाटन भएको छ ।

साविकको जिल्ला शिक्षा कार्यालय म्याग्दीको ६ लाख ५० हजार तथा पुस्तकालय व्यवस्थापन उपसमितिको पहलमा करिब एकलाखसहित कुल सातलाख ४६ हजार रुपैयाँको लागतमा पुस्तकालय स्थापना गरी सञ्चालन गरिएको हो ।
सोही अवसरमा पुस्तकालय सञ्चालनका लागि दुईलाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषमा शुक्रबार मात्रै ६० हजार ३८० रुपैयाँ सङ्कलन भएको छ ।

विद्यालयका प्रधानाध्यापक खिम छन्त्यालले आफ्नी स्वर्गीय आमा अणदेवी छन्त्यालको स्मृतिमा सातहजार, म्याग्दीका क्रियाशिल पत्रकार एवं पुस्तकालय व्यवस्थापन उपसमिति संयोजक गोपाल छन्त्यालले आफ्नो स्व. पिता हरिप्रसाद छन्त्यालको स्मृतिमा तथा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले पाँचहजार रुपैयाँ अक्षयकोषमा सहयोग गरेका छन् ।
उक्त सङ्कलित रकमबाट पुस्तकालयमा पुस्तकहरु खरिद गर्ने र कर्मचारी व्यवस्थापन गर्ने बताइएको छ । पुस्तकालयको उद्घाटन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले शिक्षण सिकाई क्रियाकलापमा पुस्तकालयले महत्वपूर्ण सहयोग पु¥याउने बताए ।

उनले पुस्तकालयले विद्यार्थीको सिकाई वृद्धि हुने भन्दै विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनुपर्ने जोड दिएका छन् ।

कार्यक्रममा अमर मावि पाखापानी स्रोतकेन्द्रका स्रोतव्यक्ति बालकृष्ण उपाध्याय, पत्रकार तथा पुस्तकालय व्यवस्थापन समिति संयोजक गोपाल छन्त्याल, वडा सदस्य यामकुमारी गोतामे, रघुगंगा आधारभूत विद्यालयका प्रअ चन्द्रमान छन्त्याल, विद्यालयका अभिभावक अगेन्द्र छन्त्याल र अगुवा किसान समबहादुर विकले मन्तव्य राखेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष गमान छन्त्यालको अध्यक्षता र विद्यालयका प्रअ खिमबहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।