इन्टरनेटमा पहुँच बढाउन शिक्षकहरुलाई आइसिटीसम्बन्धी तालिम

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ २४ ।IMG_7482इन्टरनेटमाथि पहुँच बढाउन तथा कक्षाकोठामा सूचना र प्रविधिको प्रयोग गर्ने उद्देश्यले बिहीबारदेखि म्याग्दीमा सूचना, सुञ्चार तथा प्रविधि (आइसिटी) सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा विद्यालय शिक्षकहरुका लागि बेनी सामुदायिक माविमा आइसिटीसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख रामकुमार श्रेष्ठले शिक्षकहरुलाई सक्रियतापूर्वक तालिममा भाग लिन आग्रह गरेका छन् । उनले सूचना प्रविधिले विश्वलाई एकै ठाउँमा ल्याएको भन्दै कक्षाकोठामा सूचना प्रविधिको प्रयोग गरेर शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

बेनी नगरपालिकाका नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले सूचना प्रविधिको प्रयोगविना गुणस्तरीय शिक्षा प्रदान हुन नसक्ने बताउँदै इन्टरनेटको प्रयोग गर्नुपर्ने बताए । तालिमको समापन गर्दै नगरपालिकाका लेखा अधिकृत युक्तप्रसाद शर्माले तालिमलाई उपलब्धिमूलक बनाउनुपर्ने बताएका छन् ।

‘हामी सबैको इच्छा, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित आयोजित आइसिटी तालिममा बेनी नगरपालिका अन्तर्गत सामुदायिक एवं निजी विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेको छ । ३ दिनसम्म चल्ने तालिमको नगरपालिकाका आइटी अफिसर खिमबहादुर क्षत्री, स्रोतव्यक्तिद्वय मोहन बानियाँ र केशवप्रसाद रेग्मीले सहजीकरण गरिरहेका छन् ।

तालिमको उद्घाटनसत्र नगरपालिका लेखा अधिकृत युक्तप्रसाद शर्माको अध्यक्षता, स्रोतव्यक्ति दुर्गाराम सुवेदीको सञ्चालन र मोहन बानियाँको स्वागतमा सम्पन्न भएको थियो । स्रोतव्यक्ति केशवप्रसाद रेग्मीले तालिमको उद्देश्यमाथी प्रकाश पारेका थिएभने नगरपालिकाका सामाजिक विकास संयोजक गोविन्दप्रसाद पौडेलले मन्तव्य राखेका थिए ।