सन्तोष गौतम/विकल्प न्यूज
पात्लेखेत २४ जेठ । बेनी नगरपालिका १० पात्लेखेतका उत्कृष्ट कृषकहरुलाई बिहीबार पुरस्कृत गरिएको छ । वडा कार्यालयले वि.स २०७४ मा कृषि र पशुपालनको विभिन्न बिधामा उत्कृष्ट काम गर्ने पाँच जना कृषक छनौट गरेर पाँच हजार रुपैयाका दरले नगद सहित पुरस्कृत गरिएको हो ।२०७४ चैत १३ गते बसेको छनौट समितिको बैठकले फलफुलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारी विउमा कृष्णबहादुर पाईजा, पशुपालनमा भवीन पाईजा, बेमौसमी आलु खेती गर्ने ईन्द्रदेवी गर्बुजा र ताजा तरकारी खेती गर्ने मोतीलाल रोकालाई सिफारीस गरेको थियो ।
पुरस्कृत कृषकहरुलाई कार्यबाहक वडा अध्यक्ष लोकबहादुर पुन, कार्यपालीका सदस्य योगेन्द्रमान गौचन, वडा सचिव तिलकप्रसाद पौडेल, वडा सदस्य बिष्णुबहादुर रकाल, पार्वती पौडेल, कमला नेपाली, नेपाल कम्प्युनिष्ट पार्टीका कृष्ण मल्ल र नेपाली काँग्रेसका शिवबहादुर शाहीले नगद र प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
उद्यम व्यवसाय तर्फ आकर्षित र ब्यवसायीक कृषि पेशा अपनाउनेलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरुवात गरिएको उत्कृष्ट कृषक पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिने कार्यबाहक वडा अध्यक्ष पुनले बताउनुभयो ।कार्यबाहक वडा अध्यक्ष पुनको अध्यक्षता, सचिव पौडेलको सञ्चालन र सदस्य रकालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कार्यपालीका सदस्य गौचन, पुरस्कृत कृषक भविन पाईजा र सिद्ध भुमे महिला सहकारी संस्थाका अध्यक्ष गिता रोकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा पाल्पा सरुवा हुनुभएका पशु सेवा केन्द्र घतानका प्राबिधिक नारायण दर्लामीलाई वडा कार्यालय र कृषकहरुको तर्फबाट सम्मान सहित बिदाई गरिएको थियो ।