अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई राम्चेबाट सुरु

राकेश शर्मा/राम्चे

जेठ २२ । IMG_3141अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक बर्ष २०७४÷०७५ मा सञ्चालन गरेका विकास निर्माण योजना, कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरणका विषय माथि सार्वजनिक सुुनुवाई कार्यक्रम सुरु गरेको छ ।

८ वडा रहेको गाउँपालिकाको पायक पर्ने स्थान छनौट गरि ५ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यक्रमको पहिलो दिन सोमबार वडा ८ राम्चेमा वडाबासीको सहभागितामा वडा कार्यालय, गाउँपालिका मार्फत सञ्चालित योजना, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरणका विषयमा सार्वजनिक सुनुवाई गरिएको छ ।

वडा नं ८ वडाअध्यक्ष खमबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयले उठाएका सवाल बारे गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहाल, उपाध्यक्ष केशमायाँ तिलिजा, गाउँपालिका मातहतका विषयगत समितिका सभापति तथा संयोजकहरुले जवाफ दिएका थिए ।

कार्यक्रममा राम्चेका अगुवा लक्ष्मण गर्बुजाले गाउँपालिकाको गौरबको सडक आयोजना पोखरेबगर–हिस्तान–राम्चे सडकको स्तरोन्नति कार्यको प्रभावकारी अनुमगन हुनुपर्ने बताए ।

राजु गर्बुजाले राम्चे र नागीलाई गाउँपालिकाको केन्द्र पोखरबेगरसँगै जिल्ला सदरमुकाम बेनी र पोखरासँग जोड्न पर्वतको जलजला गाउँपालिकासँग सहकार्य गरेर मल्लाज–फलाटे–नागी सडकबारे ध्यान दिनुपर्ने माग गरे ।

राम्चेबासीले गाउँपालिका अन्र्तगत सबैभन्दा दुर्गम मानिने क्षेत्रलाई मध्यनजर गर्दै गौरबको आयोजना सञ्चालन गरेकोमा उत्साहित हुदै आगामी दिनमा त्यसलाई निरन्तरता दिन माग गरेका थिए ।

स्थानीय ओमबहादुर गर्बुजा, फासबहादुर गर्बुजा, गेममायाँ पुन, चाम बहादुर पुर्जाले सडकका अतिरिक्त स्वास्थ्य सेवा तर्फ बर्थिङ सेन्टरको प्रभावकारी सञ्चालन, सुत्केरी महिलाहरुलाई तत्काल प्रोत्साहनभत्ता, कृषि तथा पशु सेवातर्फ पशु बिमा, आलुमा देखिएको विभिन्न किसिमका समस्याका विषयमा जानकारी गराएका थिए । हिमाञ्चल मावि नागीका प्रधानाध्यापक रमन पुन, शिक्षक गेम बहादुर खत्री लगायतले गाउँपालिकाले चालु शैक्षिक सत्रबाट सञ्चालन गरेको अनिवार्य अँग्रेजी माध्यमबाट पठनपाठनको सुरुवातको स्वागत गर्दै शिक्षालाई पहिलो प्राथामिकता दिन आग्रह गरेका थिए । स्थानीयस्तरबाट उठेका सवालमाथि जनप्रतिनिधीका अतिरिक्त कृषि शाखा संयोजक गोपाल भट्टराई, पशु सेवा शाखाका संयोजक सतेन्द्रकुमार राय, स्वास्थ्यसेवा संयोजक समुन्द्र बरुवाल, स्रोत व्यक्ति भरतकुमार पुनले आ–आफ्नो क्षेत्रको जवाफ दिएका थिए । गाउँपालिका उपाध्यक्ष केशमायाँ तिलिजाले स्वागत गरेको कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख क्या. पुनले पारदर्शीताका लागि गाउँपालिका सबै स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको बताए । पालिका भित्रको दुर्गम क्षेत्रलाई उच्च प्राथामिकताका साथ बजेट विनीयोजन गरिएको भन्दै अध्यक्ष पुनले त्यसको समुचित प्रयोग भएकोमा खुशी व्यक्त गरे । ‘गाउँपालिकाको पहिलो प्राथामिकता शिक्षा हो, शिक्षामा देखिने परिवर्तन मेरै पालामा गर्नेछु, त्यसका लागि स्थानीयस्तरबाट भइरहेको सहयोगप्रति उत्साहित छु’, उनले भने, ‘शिक्षासँगै स्वास्थ्य, भौतिक पूर्वाधारको विकास र मानवीय विकासमा समेत ध्यान दिनेछौँ ।’ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष केशमायाँ तिलिजा, आर्थिक विकास समितिका संयोजक आत्मा तुलाचन, सार्वजनिक विकास तथा क्षमता विकास समितिका संयोजक गमप्रसाद विकास समिति संयोजक गम प्रसाद फगामी र सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामीले गाउँपालिकाको आन्तरिक आय बृद्धि गर्नुपर्ने आवश्यकता औल्याउँदै जलविद्युतको हबको रुपमा विकास गर्ने र पर्यटन प्रर्बद्धनलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए । गाउँपालिका अनुसार, वडा ९ राम्चेमा चालु आबमा ५१ वटा योजनामध्ये ३२ वटा सम्पन्न भइसकेको, ११ योजना सञ्चालनमा रहेको र ७ वटा अझै सम्झौता हुन बाँकी रहेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालले मंगलबार हिस्तान मण्डली, बुधबार नारच्याङ घराप, बिहिबार तल्लो शिख र अन्तिम दिन शुक्रबार पोखरेबगरमा सार्वजनिक सुनुवाई कार्यक्रम तय गरिएको जानकारी दिए । गाउँपालिकाले म्याग्दी मिडिया सोसाइटीसँगको सहकार्यमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन गाउँपालिकाको नायब सुब्बा कुलप्रसाद आचार्यले गरेका थिए भने सहजीकरण सोसाइटीका अध्यक्ष गोपाल छन्त्याल र राकेश शर्माले गरेका थिए ।