रघुगंगामा गौरबको आयोजना

विकल्प न्यूज/बेनी
जेठ १७ गते ।IMG_2710म्याग्दीको रघुगंगा गाउँपालिकाले बजेटलाई केन्द्रित गरेर गौरबका आयोजनामा लगानी गरेको छ । भौगोलिक रुपमा बिकट रघुगंगा गाउँपालिका क्षेत्रमा सहज सडक सुबिधा विस्तारका लागि महत्वका साथ बजेट बिनियोजन गरेर गौरवका आयोजना सञ्चालन गरेको हो ।

चालु आर्थिक वर्षमा रघुगंगा गाउँपालिकाले नमुना गौरवका आयोजनाको रुपमा झिँ–पाखापानी, दग्नाम–दर्मीजा–चिमखोला सडक र बेग बादुक जोड्ने झोलुङ्गे पुल देखि बेग देउराली जोड्ने पदमार्ग निर्माण योजना सञ्चालन गरेको छ । १८८ वटा योजना तथा कार्यक्रमका लागि ११ करोड २८ लाख सात हजार रुपैयाँ बजेट बिनियोजन गरेको रघुगंगा गाउँपालिकाले पहिलो वर्ष नमुनाको रुपमा तिन वटा गौरवको योजना सञ्चालन गरेको हो ।

पूर्वाधार सम्बन्धि ६५ वटा योजना निर्माण सम्पन्न गरिसकेको रघुगंगाले सबैभन्दा बढी ९५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको दग्नाम–दर्मीजा सडक आयोजना अन्तरगत म्याग्दी जिल्लाकै कठिन र अप्ठ्यारो मानिने अजिंगर भिरमा बिस्फोटक पदार्थको प्रयोग गरेर ट्याक निर्माण सुरु गरेको अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

गाउँपालिकाले बिनियोजन गरेको पचहत्तर लाख रुपैयाँबाट बेनपा १० पात्लेखेतको सिमानादेखि वडा न. ५ झिँ हुदै ६ नम्बर वडा पाखापानीको ठोकला खोलासम्म जोड्ने ९ किलोमिटर सडकलाई दश मिटर फराकीलो बनाउने, नाली, पर्खाल, सोलीङ र कजवे निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

१ नम्बर वडा बेगमा बिनियोजन भएको ४८ लाख रुपैयाँ बजेटबाट बेग–बादुक जोड्ने (३६५.८ मिटर) नेपालकै लामो झोलुङ्गे पुल देखि बेग देउरालीसम्मको उकालो बाटोमा एक किलोमिटर पक्की पदमार्ग निर्माण भैरहेको छ । गाउपालिकाको केन्द्र मौवाफाट देखि करिब छ किलोमिटर ट्याक खोलेर अजिंगर भिरसम्म पु¥याइएको सडक अघि बढाउन प्रशासन, प्रहरी र सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईले बताउनुभयो ।

टुक्रे योजना भन्दा धेरै र पर्याप्त बजेट बिनियोजन भएका योजनामा देखिनेगरी प्रभावकारी काम भएको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिहरुले अनुभव गरेका छन् । आगामी वर्षको बजेट बिनियोजनका क्रममा प्राथमिकता निर्धारण गरेर गाउँपालिका र वडा स्तरमा गौरवका आयोजना सञ्चालन गर्ने तयारी भएको छ । भौगोलिक बिकटताकाले दुर्गम बस्तीमा विकासका आधारभुत पूर्वाधार तयार पार्न सडक निर्माण योजनालाई प्राथमिकता दिनुपर्ने दग्नाम दर्मीजा मोटारबोटा उपभोक्ता समितिका अध्यक्ष कृष्ण गर्बुजाले बताउनुभयो ।

टुक्रे योजना बनाएर बजेटलाई चारोझै छर्दा दुरुपयोग र उपलब्धि नहुने भएकाले स्थानीय तहले प्राथमिकता र आवश्यकता अनुसारका योजनालाई बजेट बिनियोजनमा प्राथमिकता दिएमा प्रभावकारी काम हुने तथा जनताले विकासको अनुभुती गर्न पाउने देखिन्छ ।