रघुगंगामा मेला जात्रामा कडाई

सन्तोष गौतम/ विकल्प
मौवाफाट ९ जेठ ।IMG_2710

म्याग्दीको रघुगंगा गाउँपालिले सामाजिक विकृती र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाई गर्ने नियम बनाएको छ ।

हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजनागर्न अनिवार्य अनुमती लिनुपर्ने र पाँच दिन भन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । सबै जसो बस्तीमा विभिन्न चाड पर्वमा दश देखि पन्ध्र दिनसम्म मेला जात्रा लगाउने चलनले सामुदायीक विद्यालयको पठनपाठन र शान्ति सुरक्षामा असर पारेको थियो ।

मेलाजात्रामा मदिराको अत्याधिक बिक्री वितरण, कुटपिट, बालबिवाह, महिला हिंसा, झै झगडाको समस्या बढेपछि ब्यवस्थित र मर्यादीत बनाउन मेला तथा महोत्सव व्यवस्थापन गर्न बनेको ऐन २०७५ पारित गरिएको हो ।

परम्परागत र सांस्कृतीक महत्व बाहेकका एक दिन भन्दा बढी समय सञ्चालन गरिने मेला महोत्सवका लागि वडाको सिफारीसमा गाउँपालिकाको अनुमती लिएर बढीमा पाँच दिन मात्र मेला आयोजना गर्न पाउने नियम बनाइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईले जानकारी दिनुभयो ।

यसैगरी गाउँपालिका क्षेत्रमा रहेका पसल, उद्योग, ब्यापार, ब्यवसायलाई कानुनी दायरामा ल्याउने भएको छ । सबै वडाका ब्यवसाय दर्ता गराएर कर र कानुनी दायरामा ल्याउन लागिएको हो । ब्यवसाय दर्ताका लागि दुई हजार रुपैया शूल्क निर्धारण गरिएको छ । गाउँसभाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक १३ वटा कानुन पारित गरेको छ ।
प्रशासकीय कार्यबिधी नियमित गर्न बनेको ऐन, आर्थिक कार्यबिधी, सहकारी, न्यायीक समतिले उजुरीको कारबाही, किनारा र व्यवस्थित गर्न बनेको ऐन, गाउँपालिका बिपद जोखिम न्युनीकरण तथा ब्यवस्थापन गर्न बनेको ऐन, गाउँसभा सञ्चालन कार्यबिधी, बजार अनुगमन निर्देशीका, स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यबिधी, प्राबिधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यबिधी, घ बर्गको निर्माण ब्यवसायी इजाजतपत्र जारी गर्ने सम्बन्धि कार्यबिधी, उपभोक्ता समिति गठन कार्यबिधी र योजना तर्जुमा दिग्दर्शन पारित भएको छ ।

पारित कार्यबिधी, ऐन र दिग्दर्शन प्रमाणीत तथा राजपत्रमा प्रकाशीत गरी कानुनको रुपमा क्रियाशिल हुने जनाइएको छ । कानुन निर्माण भएपछि निर्देशन र तोक आदेशको आधारमा काम गर्नुपर्ने अप्ठ्यारो अवस्थाको अन्त्य भई काम गर्न सहज भएको प्रशासकीय अधिकृत चापागाईले बताउनुभयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि बजेट बिनियोजन गरेका १८८ वटा पूर्वाधार सम्बन्धि योजना मध्य हालसम्म ६५ वटा सम्पन्न भैसकेका छन् । १५ वटा सम्झौता हुन बाँकी र अन्य कार्यान्वयनको चरणमा रहेका गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।
कुल २४ करोड ७५ लाख ५२ हजार रुपैया बजेट बिनियोजन भएकोमा हालसम्म १२ करोड ५४ लाख ८३ हजार ३४७ रुपैया खर्च भएको लेखापाल त्रिबिक्रम शर्माले बताउनुभयो । २४ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा दश लाख ३३ हजार ८४० रुपैया उठेको छ ।