नकलडाँडा–मँगलेखानी सडकको उद्घाटन

गोपाल छन्त्याल/बेनी
जेठ ८ गते ।kuine mangale sadakम्याग्दीको रघुगंगा–७ चिमखोलाको नकलडाँडा देखि वडा ८ मंगलेखानी जोड्ने मोटरबाटोको उद्घाटन गरिएको छ । मंगलबार मँगलेखानीमा आयोजित भव्य समारोहका बीच गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले उक्त सडकको उद्घाटन गरेका हुन् ।

गाउँपालिकाको ८ लाख रुपैयाँको सहयोगमा नकलडाँडादेखि मँगलेखानीसम्म साढे ३ किलोमिटर सडक निर्माण भएपछि स्थानीयलाई दैनिक उपभोग्य बस्तु आयात र स्थानीय उत्पादन निर्यात गर्न सहज भएको छ ।

जनसेवा आधारभुत प्रावि मँगलेखानीकी प्रधानाध्यापक नन्दकुमारी छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख भण्डारीले गाउँपालिकाले विकास निर्माण कार्यक्रमलाई समयमै सम्पन्न गर्न उच्च प्राथामिकतामा राखेर काम गरिरहेको बताए । कठिन भुगोलका बीच पाखापानी क्षेत्रका सर्वसाधारण लक्षित गर्दै पाखापानीमा सेवा केन्द्र स्थापना गरिएको भन्दै प्रमुख भण्डारीले जनताले अनुभुति हुने गरि काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख कमला तिलिजा, वडा ८ कुईनेमँगलेका अध्यक्ष गमान छन्त्याल, वडा ७ चिमखोलाका वडाअध्यक्ष दुर्गा पुनले सडक सञ्जालको विस्तारसँगै त्यसको प्रयोग र स्थानीय उत्पादनलाई निर्यात गराउनसक्ने तर्फ स्थानीयको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मंगलेखानीका श्रीकृष्ण युवा क्लबका श्याम छन्त्याल, नरमान छन्त्याल, प्रधानाध्यापक नन्द कुमारी छन्त्यालले गाउँका समस्या र मागहरु प्रस्तुत गरेका थिए । सडक गाउँमा पुगेको खुशीयालीमा मँगलेखानीमा नाचगान समेत गरिएको थियो भने उक्त कार्यक्रमको सञ्चालन मँगलेखानीका युवा गुनदेव छन्त्यालले गरेका थिए ।

चिमखोला र मँगलेखानी क्षेत्रमा गलेश्वर, पिप्ले, भगवति र बेगखोला हुदै सवारीसाधन सञ्चालन आएपनि बर्षायाममा यो सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका सर्वसाधारणले यातायात सुविधा उपभोग गर्न पाउँदैनन् । गलेश्वर, पिप्ले, मौवाफाँट हुदै दग्नामको अजिङगभीर सम्म नियमित सवारी साधन सञ्चालन हुदै आएको छ ।

मौवाफाँट सहित, दग्नाम, दरमिजा, चिमखोला र मँगलेक्षेत्रका सर्वसाधारण यहि सडकबाट यात्रा गर्ने गरेका छन् । गाउँपालिकाले चालु आर्थिक बर्षमा चिमखोला क्षेत्रबाट दरमिजा हुदै अजिङगर भीरको ट्रयाक खोल्ने गरि काम भइरहेको जनाएको छ ।