सन्तोष गौतम
म्याग्दी २७ बैशाख । अन्नपूर्ण गाउँ पालिकाले स्थानीय सरकार सञ्चालन सम्बन्धि ऐन, कानुन, कार्यबिधी तयार पार्ने कामलाई तिब्रता दिएको छ ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा पोखरेबगर स्थित कार्यालयमा यसैहप्ता बसेको कार्यपालिका बैठकले थप तिन वटा कार्यबिधी पारित गरेको छ ।
सहकारी सञ्चालन, उपभोक्ता समिति गठन र घ बर्गको निर्माण ब्यवसायी ईजाजत दर्ता, नविकरण र खारेजी सम्बन्धि कार्यबिधी तयार पारिएको कार्यापालीकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।
६ नम्बर वडाका अध्यक्ष समेत रहुनभएका बरुवालका अनुसार गाउँपालिका भित्रका ८० वर्ष माथिका सबै जेष्ठ नागरीकलाई उपहार सहित सम्मान गर्ने निर्णय भएको छ ।
यसैगरी म्याग्दी भ्रमण वर्ष २०७५ को लागि उपाध्यक्ष केशमाया मगरको संयोजकत्वमा गाउँपालिका स्तरीय स्वागत र प्रवत्ता बरुवालको संयोजकत्वमा प्रचारप्रसार समिति गठन भएको छ ।
कार्यपालिकाको बैठकबाट पारित भएका कार्यबिधी गाउँसभाबाट अनुमोदन भएपछि कानुनको रुपमा कार्यान्यवन हुनेछन् । तत्कालका लागि कार्यबिधीनै ऐनका रुपमा क्रियाशिल हुनेछ ।
यसअघि शिक्षकहरुको नियुक्ती, सरुवा र एम्बुलेन्स सञ्चालनका लागि तयार पारिएको कार्यबिधी पारित भएको थियो ।