पोखरेबगर–चित्रे सडक आयोजनाको अन्यौलता हट्यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ बैशाख । Pokhabagarअन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी नजिकैको चित्रे जोड्ने सडक स्तरोन्नतीको लागि डिपीआर तयार पार्ने काम अघि बढेको छ ।

समुदाय स्तरमा जग्गा सम्बन्धि बिवादको समाधान र जनप्रतिनिधिहरुको पहलले अन्यौलमा परेको आयोजना कार्यान्वयनको बाटोमा अघि बढेको हो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगतको भुकम्प आपतकालीन आयोजना मार्फत पोखरेबगर चित्रे सडकको डिपीआर तयार पार्ने काम भैरहेको जानकारी दिनुभयो ।

“स्थानीयबासीले जग्गा उपलब्ध गराउने सहमती जनाएलगत्तै परामर्श दाताले पुन स्थलगत सर्वेक्षण गरेर नक्साङ्कनको काम गरिरहेका छन्” सांसद थापाले भन्नुभयो “पोखरेबगर चित्रे सडक को विषयमा रहेको अन्यौलता हटेको छ ।”

आयोजनाका निर्देशक गणेश वस्तीले परामर्शदाताले विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)लाई अन्तिम रुप दिएपछि आगामी असार भित्र ठेक्का प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जग्गाधनीहरुलाई सहमतीमा ल्याउन पहल गर्नुभएको थियो । ghara sadakप्रतिनिधिसभा सदस्य थापा र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले अन्यौलमा परेको आयोजनालाई अघि बढाउन सम्बन्धित निकाय, स्थानीय तह र समुदाय स्तरमा समन्वय गर्नुभएको थियो । गत चैत अन्तिम हप्ता घारमा शिख र घारका बासिन्दाहरुको भेला गरेर सडक स्तरोन्नतीका लागि आवश्यक जग्गा उपलब्ध गराउने सहमती गरिएको थियो ।

पोखरेबगरदेखि दुरबिनडाँडा, घार, खिवाङ, शिख हुदै चित्रे जोड्ने १८ किलोमिटर दुरीको सडक स्तरोन्नतीका लागि प्रभावीत क्षेत्रका बासिन्दाले यसअघि सडकलाई जग्गा उपलब्ध गराउन बिवाद गर्दै आएका थिए । ghara sadak 1ग्रेड मिलाउन, फराकीलो बनाउन र ट्याक परिवर्तन गर्न प्रभावित जग्गाधनीको सहमती जुटाएपछि प्राबिधिकहरुले स्थलगत सर्वेक्षण गरिसकेका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । “सबैको सहयोग र समन्वयले आयोजना अघि बढ्ने वातावरण बनेको छ” अध्यक्ष बरुवालले भन्नुभयो “सहमती र आयोजना कार्यान्वयका लागि समेत सहयोगको अपेक्षा छ ।”
सडक स्तारोन्नतीका क्रममा ३ वटा घर पूर्ण र ५ वटा घर आंशिक रुपमा भत्काउनुपर्ने देखिएको छ । भत्काउनुपर्ने घरका जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउन आमभेलाले निर्णय गरी आयोजनालाई सिफारीस गरेको छ । बहुबर्षीय ठेक्का मार्फत उक्त सडक स्तरोन्नतिका लागि ४१ करोड रुपैयाँ बजेट विनीयोजन भएको छ ।

३.५ मिटर कालोपत्रे हुने सडकको सेटब्याक दुई मिटर र एक मिटर नाली बन्नेछ । गाउँपालिका अध्यक्ष पुनले पोखरेबगर–चित्रे सडक गाउँपालिकाको लाइफलाइन सडक भएकोले स्थानीयका आवश्यक मागहरु सम्बोधन गर्न गाउँपालिले पहल गर्ने बताउँदै आयोजना कार्यान्वयनमा सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ ।