ताजा समाचार:
Search

स्वास्थ्यकर्मीलाई शीघ्र एकीकृत कुपोषणको व्यवस्थापनसम्बन्धी तालिम

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, बैशाख २४ । IMG_6022उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सोमबारदेखि स्वास्थ्यकर्मीहरुका लागि शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो ।

शीघ्र र मध्यम कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको उपचार गर्ने उद्देश्यसहित पहिलो चरणको तालिम आयोजना गरिएको सुआहारा कार्यक्रमले जनाएको छ । तालिमको उद्घाटन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बालबालिकामा हुने कुपोषणको न्युनीकरण गर्नुपर्ने बताएका छन् । उनले तालिममा सिकेका सिप तथा व्यवहारलाई कार्यक्षेत्रमा लागू गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिँदै कुपोषणको अन्त्य गर्नुपर्ने बताए ।

मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले मिलन म्याग्दीले २०५६ सालदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर काम गरिने बताएकी छिन् । उनले कुपोषणको अवस्थालाई न्युनीकरण गरी पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यसहित सुआहारामार्फत तालिम चलाइएको बताइन् ।

तालिमका क्रममा नेपालमा पोषणको अवस्था, आपतकालीन अवस्थामा पोषण, बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणको जानकारी, सुआहारा कार्यक्रमको परिचय, मातृशिशु तथा बाल्यकालीन पोषणको आवश्यकता, स्तनपान तथा थप पुरक खाना, व्यवहार परिवर्तन, सुक्ष्म पोषक तत्व, आयोडिन नुनको प्रयोग, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लगायतका विविध विषयहरुमा सहजीकरण गरिने बताइएको छ ।

तीन दिनसम्म चल्ने तालिममा अन्नपूर्ण गाउँपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्यचौकीमा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । तालिमको सुआहाराका तालिम अधिकृत प्रणय उदास, संयोग खतिवडा, बेनी अस्पतालका निमित्त प्रमुख डा. विराट शर्मा र रघुगंगाका स्वास्थ्य संयोजक टिकाबहादुर शाहीले सहजीकरण गरिरहेका छन् । तालिमको उद्घाटनसत्र रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाको अध्यक्षता, स्वास्थ्य संयोजक शाहीको स्वागत र योजना शाखा प्रमुख दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।